आइतबार बिहान ११ बजे निलम्बित प्रधानन्यायाधीस चोलेन्द्र शमशेर राणा निवासबाट गाडी चढेर आएकी एक जना महिलाले पत्रकारहरूलाई प्रतिक्रिया दिइन्। उनले आफू चोलेन्द्र शमशेरकी छोरी, सुनिधि राणा भएको बताएकी थिइन्।
‘हामीलाई बाहिर निस्कन पनि दिइराख्या छैन। बच्चाहरू स्कुलबाट लिन जानुपर्छ। बच्चा ल्याउने काम गर्ने मानिस बाहिर आइराखेको बेला उसलाई पनि समातेर थुन्दियो, हामीले पनि बाँच्न पाउनुपर्यो नि,’ उनले भनेकी थिइन्, ‘यो त एकदमै अराजकताको पनि पराकाष्ठा छ। अब के कारणले यिनीहरूले गरिराख्या छ बुझिराख्या छैन। एक किसिमको लाज पनि हराएर, नैतिकता पनि हराएर हामीमाथि अन्याय र अत्याचार नै भएको छ।’
उनले आफूहरूमाथि भइरहेको अन्याय र अत्याचार नेपाली जनताले बुझिदिनुपर्ने पनि बताएकी थिइन्
उनले आफू चोलेन्द्र शमशेरको छोरी भएको बताए पनि चोलेन्द्रले बुझाएको सम्पत्ति विवरण फारममा उनको नाम उल्लेख छैन। 
छोरा छोरीको विवरणमा सचिन्द्र शमशेर जवरा, सृष्टि राज्यलक्ष्मी राणा रावल, सम्बृद्धि राज्यलक्ष्मी राणा कुँवरको नाम उल्लेख छ।
चोलेन्द्र शमशेरको छोरी दाबी गरेकी सुनिधि छोरी नभएको भन्दै आइतबार बेलुकीदेखि नै दाबीसहित चर्चा भइरहेका थिए।
उनको घर दैलेखकको चामुण्डा–बिन्द्रासैन नगरपालिका पर्ने र देवीराम जोशीका दुई छोरीमध्ये उनी जेठी छोरी भएको समाचारमा भाइरल भएको छ। उनी चोलेन्द्रका दाइ शान्तिशमशेरकी नातिनी बुहारी हुन्। शान्ति शमशेरका नाति बरदान शमशेर राणाकी श्रीमती भएको बताइएको छ ।