असोज ४, २०७९ मंगलबार

४ अशोज काठमाडौं । न्यूजिल्याण्डले अर्को महिना अष्ट्रेलियामा हुने आईसीसी पुरुष टी–२० विश्वकपका लागि आफ्नो टोली घोषणा गरेको छ । न्यूजिल्याण्डले विश्वकप खेल्ने टोलीमा तीन परिवर्तन गरेको छ । उसले लकी फर्गुसन, माइकल ब्रेसवेल र फिन एलेनलाई क्रमशः कायल जेमिसन, टोड एस्टल र टिम सेफर्टको स्थानमा मौका दिएको हो ।

भर्खरै केन्द्रीय अनुबन्ध अस्वीकार गर्ने दुई खेलाडी ट्रेन्ट बोल्ट र जिमी नीशमले पनि टोलीमा स्थान बनाउन सफल भए । केन विलियम्सनले तेस्रोपटक टी–२० विश्वकपमा न्यूजिल्याण्डको नेतृत्व गर्ने छन् । न्यूजिल्याण्डसँग बोल्ट, फर्गुसन, टिम साउथी र एडम मिल्ने जस्ता उत्कृष्ट तीव्र गतिका बलर छन् ।

स्पिनमा न्यूजिल्याण्डसँग इश सोधी, मिचेल सान्टनर र माइकल ब्रेसवेल छन् । ब्रेसवेलले २०२२ मा डेब्यु गरेका थिए । उनले डेब्यूपछि लगातार राम्रो प्रदर्शन गरिरहेका छन् । ग्लेन फिलिप्स, डेरिल मिचेल, सान्टनर, ब्रेसवेल र नीशमले ब्याट र बल दुबैमा योगदान दिने क्षमता राख्छन् ।

आसन्न संस्करणको टी–२० विश्वकप १६ अक्टोबरदेखि सुरु हुँदैछ । विश्वकपअघि न्यूजिल्याण्डले घरेलु मैदानमा पाकिस्तान र बंगलादेशसँग त्रिकोणात्मक सिरिज खेल्ने तालिका छ । सिरिज ७ अक्टोबरदेखि सुरु हुनेछ ।

विश्वकपका लागि न्यूजिल्याण्डको टोली स् केन विलियम्सन (कप्तान), टिम साउथी, इश सोधी, मिचेल स्यान्टनर, ग्लेन फिलिप्स, जिमी नीशम, डेरिल मिचेल, एडम मिल्ने, मार्टिन गुप्टिल, लकी फर्ग्युसन, डेभन कन्वे, मार्क चेपम्यान, माइकल ब्रेसवेल, ट्रेन्ट बोल्ट र फिन एलन ।