४ अशोज काठमाडौं । भारत र अस्ट्रेलिया टी–२० सिरिजको पहिलो खेल आज खेल्दैछन् । यी दुई टोलीबीचको खेल राति ७ः४५ देखि मोहालीस्थित बिन्द्रा स्टेडियम मा सुरु हुनेछ । अस्ट्रेलिया र भारत सिरिजमा उत्कृष्ट सुरुवात गर्न चाहन्छन् ।
दुवै टोली टी–२० विश्वकपअघि सिरिज खेलिरहेको हुन् । सिरिजमा भारत घरेलु मैदानको फाइदा उठाउँदै अग्रता लिन चाहन्छ । अस्ट्रेलिया घरेलु टोली भारतलाई स्तब्ध पार्दै सुखद सुरुवात गर्ने मनसायमा छ । यी दुईबीच भएका पछिल्लो पाँच टी–२० खेलमा अस्ट्रेलिया बलियो देखिन्छ । अस्ट्रेलियाले पाँचमध्ये तीन खेल जितेको छ ।
भारत र अस्ट्रेलियाले पछिल्लोपटक ८ डिसेम्बर २०२२ मा टी–२० खेलेका थिए । सो खेलमा अस्ट्रेलियाले भारतलाई १२ रनले हराएको थियो । यो सिरिजमा भारतीय टोलीको कप्तानी रोहित शर्माले गर्दै छन् । अस्ट्रेलिया टोलीको नेतृत्व आरोन फिन्चले गर्ने छन् ।
आजको खेलमा टिम डेविडले अस्ट्रेलियाको टोलीबाट डेब्यू गर्ने सम्भावना छ । उनले विभिन्न लिगमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । जसकारण पनि डेविडले अस्ट्रेलियाको टोलीमा मौका पाएका हुन् । उनले अन्तर्राष्ट्रिय क्रिकेटमा भने यसअघि नै सिंगापुरको टोलीबाट डेब्यू गरिसकेका छन् ।
भारतको सम्भावित प्लेइङ–११: रोहित शर्मा (कप्तान), केएल राहुल, विराट कोहली, सूर्यकुमार यादव, हार्दिक पाण्ड्या, ऋषभ पन्त/दिनेश कार्तिक (विकेटकिपर), अक्षर पटेल, भुवनेश्वर कुमार, हर्षल पटेल, युजवेन्द्र चहल र जसप्रित बुमराह ।
अस्ट्रेलियाको सम्भावित प्लेइङ–११: आरोन फिन्च ९कप्तान०, जोस इन्ग्लिस, स्टिभन स्मिथ, ग्लेन म्याक्सवेल, म्याथ्यू वेड (विकेटकिपर), टिम डेविड, क्यामरन ग्रीन, एडम जाम्पा, प्याट कमिन्स, जोस हेजलउड र सेन एबोट ।