असोज ४, २०७९ मंगलबार

अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ । अस्पताल प्रशासनले उनको जीवन रक्षाकै लागि भए पनि जबर्जस्ती काठमाडौँ लैजाने तयारी गरेको छ । 

अनसनरत केसीले भने आफ्ना माग पूरा नभई काठमाडौँ नजाने अडान लिएका छन् । कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार काठमाडौँबाट जसरी भए पनि डा. केसीलाई पठाउन निर्देशन आइसकेको छ । यही कारण आज उनलाई जबर्जस्ती भए पनि काठमाडौँ लगिने उनको भनाइ छ । 


डा. केसीको उपचारमा संलग्न डा. शेरबहादुर कमरका अनुसार उनको सुगर लेबल घटेर ४० पुगेको छ । यस्तै, प्रेसरको लेभल पनि निकै कम रहेको छ । अर्का डा. सुबोधराज कायस्थले उनको आमाशयबाट पनि रक्तश्राव भइरहेको बताएका छन् । धनगढीको सेती प्रादेशिक अस्पतालमा नौ दिनदेखि डा. केसी अनसनरत छन् ।