असोज ४, २०७९ मंगलबार

काठमाडौं । भारतीय क्रिकेट टोलीका पूर्वकप्तान विराट कोहलीले हालै यूएईमा भएको एसिया कप २०२२ मा उत्कृष्ट प्रदर्शन गरे । उक्त प्रतियोगितामा उनले पाँच खेलमा ९२ को औसतमा २ सय ७६ रन बनाएका थिए । कोहली एसिया कप २०२२ मा सर्वाधिक रन बनाउने ब्याटरको दोस्रो नम्बरमा रहेका थिए । सुपर–४ मा अफगानिस्तानविरुद्धको खेलमा कोहलीले पहिलो टी–२० र अन्तर्राष्ट्रिय करियरको ७१ औं शतक बनाएका थिए ।

उनले अस्ट्रेलियाविरुद्धको टी–२० सिरिजमा पनि आफ्नो लय कायमै राख्ने कोसिमा हुने छन् । तीन खेलको शृंखला आजदेखि २५ सेप्टेम्बरसम्म भारतमा हुँदैछ । कंगारु टोलीविरुद्ध खेल्दा टी–२० मा विराटको कीर्तिमान निकै राम्रो छ । यसैबीच, आज उनले अष्ट्रेलियाविरुद्ध टी–२० खेल्दा बनाएका ६ कीर्तिमानको चर्चा गर्दैछौं:

६. सर्वाधिक रन: भारत र अष्ट्रेलियाबीचको टी–२० खेलमा सर्वाधिक रन बनाउने कीर्तिमान कोहलीको नाममा छ । उनी भारत र अष्ट्रेलियाबीच भएका २३ खेलमध्ये १९ खेलमा भारतीय टोलीको हिस्सा रहेका छन् । यस अवधिमा उनले ५९.८३ को औसतमा ७१८ रन बनाएका छन्, जसमा कोहलीको स्ट्राइक रेट १४६.२३ छ ।

५. अस्ट्रेलियाविरुद्ध टी–२० मा सर्वाधिक ठूलो पारी खेल्ने भारतीय ब्याटर: अष्ट्रेलियाविरुद्धको टी–२० मा भारतीय ब्याटरले बनाएको सर्वाधिक रन नटआउट ९० रन हो । जुन सन् २०१६ को जनवरीमा एडिलेडमा भएको खेलमा कोहलीले बनाएका थिए । उक्त खेलमा उनले ५५ बलमा नौं चौका र दुई छक्का प्रहार गर्दै अविजित ९० रनको महत्वपूर्ण पारी खेलेका थिए । विराटकै यो इनिङ्सका कारण भारतले अस्ट्रेलियालाई ३७ रनले पराजित गरेको थियो ।

४. भारतीय ब्याटरद्वारा उच्च औसत स् अष्ट्रेलियाविरुद्धको टी–२० मा उच्च औसतमा रन बनाउने ब्याटरको कीर्तिमान पनि कोहलीकै नाममा छ । उनले हालसम्म कंगारु टोलीविरुद्ध १९ खेलमा ५९.८३ को औसतमा ७१८ रन बनाएका छन् । कोहलीपछि भारतका पूर्वब्याटर युवराज सिंह यो सूचीमा आउँछन् । उनले अस्ट्रेलियाविरुद्ध १० खेलमा ५६.६० को औसतमा २८३ रन बनाएका छन् ।

३. सर्वाधिक अर्धशतक: अष्ट्रेलियाविरुद्ध टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक अर्धशतक बनाउने ब्याटरको कीर्तिमान पनि कोहलीकै नाममा छ । उनले अस्ट्रेलियाविरुद्ध १९ टी–२० खेलको १८ इनिङ्समा कुल सात अर्धशतक बनाएका छन् । यस अवधिमा उनको उच्चतम स्कोर ९० रन हो ।

२. अष्ट्रेलियाविरुद्ध टी–२० मा सर्वाधिक छक्का हिर्काउने ब्याटर स् कोहलीले अस्ट्रेलियाविरुद्ध १९ टी–२० खेलमा २२ छक्का प्रहार गरेका छन् । उनी अस्ट्रेलियाविरुद्ध सबैभन्दा बढी छक्का प्रहार गर्ने भारतीय ब्याटर हुन् । भारत–अस्ट्रेलियाबीच खेलिएका टी–२० खेलमा सबैभन्दा बढी छक्का प्रहार गर्ने कीर्तिमान चाहिँ ग्लेन म्याक्सवेल ९२८० को नाममा छ ।

१. द्विपक्षीय सिरिजमा सबैभन्दा धेरै रन बनाउने ब्याटर: कोहली भारत र अष्ट्रेलियाबीच खेलिएको द्विपक्षीय सिरिजमा अहिलेसम्मकै सर्वाधिक रन बनाउने ब्याटर हुन् । जनवरी २०१६ मा अस्ट्रेलियामा खेलेको तीन खेलको टी–२० सिरिजमा उनले १९९ को औसतमा १९९ रन बनाएका थिए । कोहलीले १९९ रन १६०.४८ को स्ट्राइक रेटमा बनाएका हुन् । यस सिरिजमा खेलिएका तीनवटै खेलमा उनले अर्धशतकीय पारी खेलेका थिए । कोहली सो सिरिजको दुई खेलमा अपराजित रहेका थिए । तीन टी–२० खेलको सो सिरिज भारतले ३–० ले ‘क्लिन स्विप’ गरेको थियो ।