बैशाख २, २०७८ बिहिबार

काठमाडौं ! छैटौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिता आज दोस्रो सेमिफाइनलका खेल हुदैछ । आज हुने खेलमा काठमाडौंको संकटा फुटबल क्लब र भारतीय पञ्जाब पुलिसबीच हुनेछ ।

विराटनगरस्थित सहिद रङ्गशाला साँझ ७ बजेबाट सुरु हुने खेलमा संकटा पञ्जाब पुलिसलाई हराउँदै फाइनलमा पुग्न चाहन्छ । अघिल्लो साता मात्रै १९औ आहा रारा गोल्डकपको उपाधि उचालेको संकटा दोस्रो उपाधिको खोजमा हुनेछ । त्यस्तै पाहुना टोली पञ्जाब पुलिस पनि संकटालाई हराउँदै फाइनल प्रवेश गर्न चाहन्छ । 

आजको खेलको विजेताले उपाधिका लागि सशस्त्र प्रहरी बलको एपिएफको सामना गर्नेछ । एपिएफले हिजो सम्पन्न खेलमा आयो विराटनगर-११ घरेलु टोलीलाई अतिरिक्त समयमा ३-२ गोल अन्तरले हराउँदै उपाधि नजिक पुगेको छ । फाइनल खेल आगामी शनिबार हुनेछ ।  

प्रतियोगिताका विजेताले १५ लाख १५ रुपैयाँ र ट्रफी तथा उपविजेताले ७ लाख ५१ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।

प्रतियोगितामा विभिन्न ७ विधामध्ये उत्कृष्ट प्रशिक्षक, गोलरक्षक, व्यवस्थापक, मिड फिल्डर, डिफेन्स, गोलकर्ता र टिमले समान नगद २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यसबाहेक प्रत्येक खेलमा उत्कृष्ट हुने खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल दिइने छ ।