बैशाख २, २०७८ बिहिबार

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीका नम्बर वान गोलरक्षक किरण चेमजोङलाई धनगढी फुटबल क्लबले नेपाल सुपर लिगका लागि आइकोनिक खेलाडीको रूपमा अनुबन्धन गरेको छ । 

धनगढीले बिहिवार पत्रकार सम्मेलन गर्दै किरणलाई आइकोनिक प्लेयरको रूपमा सार्वजनिक गरेको हो ।
राष्ट्रिय फुटबल टोलीका कप्तानसमेत रहेका किरणलाई नेपाली फुटबल इतिहासमै पहिलो पटक आयोजना हुन लागेको एनएसएलका लागि धनगढीले आइकोनिक खेलाडीको रूपमा सार्वजनिक गरेको हो । 

थ्री नेसन्स कपको उपाधि जित्दा टोलीको कप्तानी गरेका किरणले पहिलो संस्करणको एनएसएल धनगढीबाट खेल्ने पक्का भएको हो ।

क्लबले यसअघि नै राष्ट्रिय टोलीका मिडफिल्डर विशाल राईलाई मार्की प्लेयरको रूपमा भित्र्याइसकेको छ भने अक्सनबाट १४ जना खेलाडी पनि किनिसकेको छ ।

यस्तै टिमको प्रशिक्षकमा राष्ट्रिय फुटबल टिमका पूर्वसदस्य युगल किशोर राई रहने क्लबले जनाएको छ । राईले एएफसीको ‘ए’ लाइसेन्स प्राप्तसमेत गरेका छन् ।