असोज ५, २०७९ बुधबार

पर्वत: पोखरामा हुन लागिरहेको नवौँ राष्ट्रिय खेलकुद लक्षित गरेर गण्डकी प्रदेशस्तरीय खेलकुद तालिम शुरु भएको छ। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको संयोजनमा शुरु भएको तालिम मंगलबार र बुधबार दुई दिन आयोजना गरिएको हो।

तालिममा गण्डकी प्रदेशमा कार्यरत खेल पत्रकारितामा रुचि राख्ने ७० जना पत्रकारको सहभागिता रहेको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका महासचिव राजाराम पौडेलले बताए।

उनका अनुसार पहिलो दिन मंगलबार योगेन्द्र शेरचन, पुनम गुरुङ, विशाल कुँवर, सन्दीप बराल, मोहन गुरुङ, गोपाल श्रेष्ठ, रिजन प्रजु, राजन बडगामी, रामकृष्ण ज्ञवाली, राम गुरुङ, नीरज थापा, प्रियङ्का बर्मा र योगेश भट्टराई गरी १३ जना प्रशिक्षकहरूले प्रशिक्षण दिएका छन्।

राष्ट्रिय खेलकुद परिषद्को आयोजना भएको तालिममा प्रदेश खेलकुद परिषद् गण्डकीले सहकार्य गरेको छ। यसैगरी कानुन‚ सञ्चार तथा प्रदेशसभा मामिला मन्त्रालय गण्डकी प्रदेश, पोखरा महानगरपालिका, मादी गाउँपालिका, रुपा गाउँपालिका, अन्नपूर्ण गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका, केटिएम सिटी, बरपीपल रिसोर्टलगायतले तालिमका लागि सहयोग गरेका छन्।

तालिमको उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेशकुमार गुरुङले तालिमले खेल पत्रकारितामा रुचि राख्ने पत्रकारको क्षमता अभिवृद्धि हुने बताए।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७९ अन्तर्गत खेल मैदान व्यवस्थापन उपसमितिका संयोजकसमेत रहेका गुरुङले खेलकुद क्षेत्रमा भएका विकृति विसंगति उजागर गर्नसमेत पत्रकारसँग आग्रह गरे। खेलका लागि तय भएका केही ठाउँका खेल स्थल प्राविधिक कारणले परिवर्तन हुन सक्ने सङ्केत पनि उनले दिएका छन्।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य स्थल पोखरा रङ्गशालामा रहेका संरचना मर्मत तथा स्तरोन्नति गर्न पर्याप्त बजेट नछुट्याएको गुनासो गर्दै गुरुङले बजेटकै कारण खेलको तयारीमा समस्या आइरहेको बताए।

प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्यसचिव तेजबहादुर गुरुङले खेलकुद पत्रकार मञ्च गण्डकीसँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे। नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितासम्बन्धी गतिविधि सर्वसाधारणमाझ पुर्‍याउन सञ्चारकर्मीबाट निरन्तर साथ पाउने उनको विश्वास छ।

खेलसम्बन्धी समाचार तयार पार्दा पत्रकारहरूलाई खेलसम्बन्धी प्राविधिक कुरा, मापदण्ड, नियम, आचारसंहिता लगायतको विषयमा कसैलाई पनि दुविधा नहोस् र वास्तविक समाचार बाहिर आउन भनेर तालिम आयोजना गरिएको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दिननाथ बराल बताउँछन्।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता असोज २८ देखि कात्तिक ३ गतेसम्म हुँदै छ। सोही प्रतियोगितामा समावेश गरिएका ३६ खेलहरूको समाचार लेखन सहज बनाउन तालिम आयोजना गरिएको हो।