काठमाडौं : विराटनगरमा जारी छैटौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिता आज भएको दोस्रो सेमिफाइनलका खेल पञ्जाब पुलिस विजयी भएको छ ।
विराटनगरस्थित सहिद रङ्गशाला भएको खेलमा भारतीय पञ्जाब पुलिसले काठमाडौंको संकटा फुटबल क्लबमाथि १-० गोलको जित निकाल्दै फाइनल प्रवेश गरेको हो । उसका लागि परमजित संहिले गोल गरेका थिए ।
निकै प्रतिस्पर्धात्मक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफको खेलको ७६औं मिनेटमा पञ्जाब पुलिसको लागि संहिले गरेको गोल नै जितको लागि निर्णायक बन्यो ।
त्यस्तै आजको खेलको विजेता पञ्जाब पुलिसले उपाधिका लागि सशस्त्र प्रहरी बलको एपिएफको सामना गर्नेछ । एपिएफले हिजो सम्पन्न खेलमा आयो विराटनगर-११ घरेलु टोलीलाई अतिरिक्त समयमा ३-२ गोल अन्तरले हराउँदै उपाधि नजिक पुगेको छ । फाइनल खेल आगामी शनिबार हुनेछ ।
प्रतियोगिताका विजेताले १५ लाख १५ रुपैयाँ र ट्रफी तथा उपविजेताले ७ लाख ५१ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।
प्रतियोगितामा विभिन्न ७ विधामध्ये उत्कृष्ट प्रशिक्षक, गोलरक्षक, व्यवस्थापक, मिड फिल्डर, डिफेन्स, गोलकर्ता र टिमले समान नगद २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यसबाहेक प्रत्येक खेलमा उत्कृष्ट हुने खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल दिइने छ ।