असोज ६, २०७९ बिहिबार

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले राज्यले ईभीलाई प्रोत्साहन गर्ने नीति लिनु सकारात्मक भएको बताएका छन् । नाडाको आयोजनामा बिहीवारबाट शुरू भएको नाडा ईभी एक्स्पोको उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अहिलेसम्म भएको ईभीको प्रोत्साहन लामो समयसम्म कायमै राख्नुपर्ने बताए ।

उनले अर्थतन्त्र अहिले सबैको चिन्ताको विषय रहेको सुनाए । नेपालको निजी क्षेत्र र अर्थतन्त्रले विभिन्न समस्या भोग्दै यो अवस्थामा आइपुगेको बताए । अहिलको चुनौती गम्भीर रहेको बताए । ‘मेरो जीवनकालमा यति ठूलो चुनौती देखेको थिइनँ, अध्यक्ष गोल्छाले भने । 

‘नेपाल राष्ट्र बैंकले कोरोना पछि लिएको नीतिका कारण बजारमा संकट देखिएको भनेर भनिएको छ, यसमा केही सत्यता होला’, उनले थपे । अर्थतन्त्रको यो समस्या धेरै लामो समय नरहने अध्यक्ष गोल्छाले विश्वास व्यक्त गरे । अध्यक्ष गोल्छाले अहिले रेमिटेन्स बढिरहेको भन्दै यसले पनि अर्थतन्त्रलाई ठूलो सहयोग गर्ने बताए ।

यस्तै निर्यात, पर्यटन दुवै बढेको र विदेशी लगानी पनि बढेको छ यसले पनि अर्थतन्त्र माथि उठ्ने उनले बताए । अध्यक्ष गोल्छाले बैंकले अहिले धम्कीको शैलीमा  ब्याजदर बढाउँदै गएको भन्दै यसमा राष्ट्र बैंकको ध्यान जानुपर्ने बताए । उनले आयात रोकिएको सवारी साधनको आयात अब खुलाउनुपर्नेमा जोड दिए । उनले भने, ‘अर्थमन्त्रालयले अब सकारात्मक सन्देश दिओस् ।’