पाकिस्तानी क्रिकेट टोलिका कप्तान बाबर आजम र मोहम्मद रिजवानको शानदार ब्याटिङमा पाकिस्तानले पाहुना टोली इङ्ल्याण्डमाथि १० विकेटको कीर्तिमानी जीत निकालेको छ।
जीतका लागि २ सय रनको विशाल लक्ष्य पछ्याएको पाकिस्तानले ३ बल बाँकी छँदै कुनै विकेट नगुमाइ पूरा गर्यो। पाकिस्तानको जीतमा कप्तान बाबर आजम ६६ बलमा ११ चौका र ५ छक्कासहित १ सय १० रन बनाए ।
बाबरको यो टी २० अन्तर्राष्ट्रिय करिअरको दोस्रो शतक हो। दुई वर्षअघि बाबरले दक्षिण अफ्रिकाविरुद्ध टी २० आईमा १ सय २२ रनको शतकीय इनिङ खेलेका थिए।
यस्तै अर्का ओपनर मोहम्मद रिजवानले ५१ बल खेल्दै ५ चौका र ४ छक्कासहित ८८ रन बनाए । पाकिस्तानको यो टी २० अन्तर्राष्ट्रियमा दोसो १० विकेटको जीत हो। यसअघि टी-२० विश्वकपमा गत वर्ष भारतमाथि १० विकेटको जित निकालेको थियो।
यस्तै यो टी २० अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमै कुनै पनि विकेट नगुमाइ पूरा गरेको सर्वाधिक ठूलो लक्ष्य हो। यसअघि १० विकेटको जित निकाल्ने क्रममा सर्वाधिक ठूलो लक्ष्य बनाउँदै न्युजिल्यान्डले २०१६ मा पाकिस्तानविरुद्धनै १ सय ६९ रनको लक्ष्य पूरा गरेको थियो।
नेशनल स्टेडियम कराँचीमा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९९ रन बनाएको थियो। उसका लागि इंग्ल्यान्डका कार्यवाहक कप्तान मोईन अलीले अर्धसतकीय पारी खेले। २३ बल खेलेका उनले ४ चौका र ४ छक्कासहित सर्वाधिक ५५ रन बनाएका थिए ।
यस्तै बेन डकेटले २२ बलमा ७ चौकासहित ४३ रन जोड्दा ह्यारी ब्रोकले ३१ रन बनाए। ओपनर एलेक्स हेल्स र फिलिप साल्टले पहिलो विकेटका लागि ५.१ ओभरमा ४२ रनको साझेदारी गर्दै राम्रो सुरूवात दिलाएका थिए। एलेक्स हेल्सले २६ रन जोड्दा डेविड मलान गोल्डेन डक बोल्ड भएका थिए। साल्टले २७ बल खेल्दै १ चौका र १ छक्कासहित ३० रन बनाए।
यो जीतसँगै ७ खेलको टी २० अन्तर्राष्ट्रिय सिरिजलाई पाकिस्तानले १-१ को बराबरीमा ल्याएको छ। पहिलो खेलमा इंग्ल्यान्ड ६ विकेटले विजयी भएको थियो। लिगअन्तर्गत तेस्रो खेल शुक्रबार हुनेछ।