असोज ७, २०७९ शुक्रबार

कुमारी बैंक लिमिटेडले १० वर्षे अवधि तथा वार्षिक ११ प्रतिशत ब्याजदर भएको ‘११ प्रतिशत केबिएल डिबेन्चर २०८९’ को ऋणपत्र बाँडफाँट गरिएको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरको ३० लाख कित्ता ऋणपत्रको निष्काशन गरेकोे थियो । उक्त ३ अर्ब बराबरको ऋणपत्र मध्ये १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिने तथा १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि सार्वजनिक निष्काशनबाट बिक्री गरिने भएको थियो । 

सर्वसाधारणका लागि भदौ १७ गतेदेखि ३१ गतेसम्म निष्काशन तथा बिक्री खुला गरिएको थियो । व्यक्तिगत तथा सार्वजनिक गरी जम्मा ३ अर्ब बराबरको निष्काशनमा ३ अर्ब १५ करोड बराबरको आवेदन प्राप्त भएको थियो । रितपूर्वक आवेदन दिनेलाई शुक्रवार ३० लाख कित्ता ऋणपत्र सार्वजनिक निष्काशनतर्फ माग भएबमोजिम तथा व्यक्तिगत तवरमा आवेदन आएकोमा समानुपातिक आधारमा बाँडफाँट गरिएको बैंकले जनाएको छ । 

आफ्ना देशव्यापी १९९ शाखा सञ्जाल, १९५ एटीएम, ५३ शाखारहित बैंकिङ इकाई तथा ३४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक सेवा सुविधाहरू प्रदान गर्दै आएको कुमारी बैंकले आगामी दिनमा अझ सुरक्षित, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लग्ने प्रतिबद्धता जनाएको छ ।