चाडपर्वमा ट्राफिक व्यवस्थापनका लागि काठमाडौं उपत्यका ट्राफिक कार्यालयले न्यूरोड जाने यात्रुवाहक, मालवाहक तथा निजी चारपाङ्ग्रे सवारी साधनहरूलाई खुलामञ्चमा पार्किङको व्यवस्था गर्ने भएको छ । ट्राफिक प्रहरीले आजबाट फूलपातीसम्म न्युरोड गेटबाट भित्र प्रवेश गर्ने सम्पूर्ण सवारी साधनलाई खुलामञ्चमै पार्किङको व्यवस्था गरेको हो ।
कार्यालयले एक सूचना जारी गर्दै फूलपातीसम्म बिहान १० बजेदेखि साँझ सवारी चाप सामान्य नहुन्जेलसम्म डाइभर्शन गरी खुलामञ्चमा पार्किङ गर्ने व्यवस्था मिलाइएको उल्लेख गरिएको हो । प्रहरीले चाडपर्वमा मुख्य व्यापारिक क्षेत्र न्यूरोडमा सवारी चाप बढ्ने, दुर्घटना हुनसक्ने भन्दै छुट्टै पार्किङको व्यवस्था गरेको जनाएको छ ।