नेपालगञ्जका व्यापारीले भारतीय सीमा नाकामा पुगेर नेपाली ग्राहकहरूलाई स्वदेशमै सामान खरिद गर्न आग्रह गरेका छन् ।
दसैंको मुखमा रुपैडिहा नाकामा किनमेल गर्न जानेको भीड बढिरहेको वेला उनीहरूले यस्तो आग्रह गरेका हुन् ।
व्यापारीहरूले शनिबार नाकामा पुगेर ‘स्वदेशमै सामान खरिद गरौँ’ भन्ने पर्चा वितरण गरे। नेपालगञ्ज उद्योग वाणिज्य संघको अगुवाइमा व्यापारीको टोलि जमुनाहा नाकामा पुगेर स्वदेशमै खरिद गर्न आग्रह गरेका हुन् ।
बैंकको चर्को ब्याजदर वृद्धि र कारोबारको २०/२५ प्रतिशत मात्र लगानी गर्ने नेपाल राष्ट्र बैंकको पछिल्लो नीतिको संघले विरोध गरिरहेको छ। संघले शुक्रबार राष्ट्र बैंक अगाडि धर्ना दिएको थियो ।
नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले सीमावारि नै बजार बढाउन स्वदेशमै किनमेल गर्न अनुरोध गरे । उनले स्वदेशमै किनमेल गर्दा राष्ट्रिय अर्थतन्त्र बलियो बनाउन टेवा पुग्ने विश्वास व्यक्त गरे ।
संघका महासचिव चिरञ्जीवी ओलीले सस्तोको नाममा रुपैडिहा पुगेका नेपाली ग्राहक ठगिँदै आएको जिकिर गरे ।