काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा अलराउन्डर पारस खड्काले शनिबार बाट टियु मैदानमा सुरु त्रिकोणात्मक सिरिज अन्तर्गत टी२० अन्तर्राष्ट्रिय खेल गुमाउने भएका छन् । हातको औँलामा लागेको चोटका कारण उनले खेल गुमाउने भएका हुन ।
गत आइतबार अभ्यासको क्रममा चोट लागेको र चिकित्सकले २/३ हप्ताको ‘रिहाब’मा जान सुझाव दिएकोले सिरिजमा खेल्न नसक्ने खड्काले उल्लेख गरेका छन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल, नेदरल्यान्ड्स र मलेसिया सम्मिलित त्रिकोणात्मक टी२० सिरिज हुँदै छ ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको यस प्रतियोगिता बैशाख ४ देखि ११ गते सम्म चल्नेछ । त्यस्तै पारसले भोलिको खेल नखेल्ने निश्चित छ । बाँकी खेलको पनि टुंगो नभएको कारण उनको स्थान नयाँ खेलाडीले लिने सम्भावना छ । नेपाल र नेदरल्यान्ड्सबीचको खेल भोलि १ः१५ बजेबाट सुरु हुँदै छ ।