असोज ९, २०७९ आइतबार

काठमाडौँ । सर्वोच्च अदालतको कामु प्रधानन्यायाधीशको जिम्मेवारी हरिकृष्ण कार्कीले सम्हाल्ने भएका छन् । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की उमेरहदका कारण बिदा हुने भएपछि कामु प्रधानन्यायाधीशकै रूपमा हरिकृष्णले जिम्मेवारी पाउने भएका हुन् । दीपकुमार आजै ३ बजे सर्वोच्च अदालतबाट बिदा हुँदै छन् । उनले अवकाश लिँदै छन् ।


हरिकृष्ण प्रधानन्यायाधीश भने मंसिर २७ पछिमात्र बन्ने छन् । हरिकृष्ण २०७३ साउन १७ गते सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा २०६८ सालमा उनी महान्यायाधिवक्ता भए । हरिकृष्णले आगामी २०८० भदौ २५ गतेसम्म सर्वोच्च अदालतको नेतृत्व गर्न पाउने छन्  । २०१५ भदौ २५ गते जन्मिएका उनी न्यायाधीशको ६५ वर्षे उमेर हदका कारण अवकाश हुनेछन् ।

दीपककुमार कार्कीले साढे ७ महिना सर्वोच्चको नेतृत्व गरे । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लागेर निलम्बनमा परेसँगै बरिष्ठतम् न्यायाधीश रहेका कार्कीले सर्वोच्चको नेतृत्व गर्ने अवसर पाएका हुन् ।

नभए उनी न्यायाधीशकै रूपमा असोज १७ गतेदेखि अवकास हुने थिए ।