एजेन्सी : इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन र टोटेनहम हटस्परले बराबरी खेलेका छन् । शुक्रबार राति भएको खेलमा एभर्टन र टोटेनहमले २–२ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् ।
एभर्टनको घरेलु मैदानमा घरेलु टोलीका लागि गिल्फी सिगुरोसोनले २ गोल गर्दा टोटेनहमका कप्तान ह्यारी केनले पनि २ गोल गरे । खेलमा टोटेनहमले सुरुवाती अग्रता बनाएको थियो ।
टोटेनहमका लागि केनले २७औँ मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । तर खेलको ३१औँ मिनेटमा सिगुरोसोनले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काए ।
त्यस्तै दोस्रो हाफको खेलको ६२औँ मिनेटमा सिगुरोसोनले दोस्रो गोल गर्दै एभर्टनलाई अग्रता दिलाए । तर ६८औँ मिनेटमा केनले दोस्रो गोल गरेपछि खेल बराबरीमा सकियो ।
उक्त बराबरीसँगै सातौँ स्थानको टोटेनहमले ३२ खेलमा ५० अङ्क जोड्यो । आठौँ स्थानको एभर्टनले ४९ अङ्क बनायो ।