सन् २०१९ को च्याम्पियन पोर्चुगल युईएफए नेसन्स लिग फुटबलको समूह चरणबाटै आउट भएको छ । अन्तिम खेलमा स्पेनले पोर्चुगललाई उसकै घरमा ०–१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । सेमिफाइनल प्रवेशका लागि आफ्नो घरमा पोर्चुगललाई बराबरी नतिजा नै काफी हुने भए पनि पराजित भएपछि उसको उपाधि सपना घरमै खरानी भयो । पोर्चुगलका लागि यो निकै निराशाजनक नतिजा हो । ऊ यसपटक उपाधि जित्ने होडमा थियो ।
स्पेनले पोर्चुगलको घरमा पहिलो हाफमा एउटा पनि सट अन टार्गेट हान्न सकेको थिएन । तर, उसले दोस्रो हाफको अन्तिम समयमा गोल गर्दै क्रिस्टियानो रोनाल्डोको टिमलाई चोट दियो । पछिल्ला ४ खेल हार–जितबिना बराबरी भएकोमा यसपटक स्पेनले पोर्चुगलमाथि उसकै घरेलु मैदानमा महत्त्वपूर्ण जित निकाल्यो, जुन जितले स्पेनलाई नेसन्स लिगको सेमिफाइनलमा पुराएको छ ।
खेलको ८७औं मिनेटसम्म खेल ०–० को बराबरीमा थियो । यही अवस्थामा खेल सकिएको भए पोर्चुगल नै समूह विजेता बन्ने थियो । तर, खेलको ८८औं मिनेटमा स्पेनका लागि अल्भारो मोराटाले गोल गरेपछि पार्चुगललाई झट्का लाग्यो । स्पेनका सब्सिच्यूट युवा खेलाडी निको विलियम्सको क्रस पासमा मोराटाले हाफ भलीमा सहजै गोल गरेर स्पनेलाई अग्रता दिलाएका थिए । उनको त्यही १ गोल स्पेनलाई जिताउन पर्याप्त बन्यो । गोल खाएपछि पोर्चुगल खेलमा फर्किन सकेन । र, घरमै स्तब्ध बन्न पुग्यो ।