असोज १२, २०७९ बुधबार

कतार विश्वकपअघि तयारीका लागि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अहिले फिफा वरीयताको तेस्रो स्थानको अर्जेन्टिना र ६२औं स्थानको जमैका बीचको खेल जारी छ । अमेरिकास्थित रेड बुल एरिना रंगशालामा जारी खेलको पहिलो हाफमा अर्जेन्टिनाले सुरुआती अग्रता लिएको छ । कप्तान तथा प्रमुख खेलाडी लियोनल मेस्सीलाई बेन्चमा राखेर उत्रिएको अर्जेन्टिनाका लागि युवा खेलाडी जुलियन अल्भारेजले गोल गरे ।

मेस्सी स्वास्थ्य समस्याका कारण नखेलेको खेलमा मेस्सीको स्थानमा अल्भारेजलाई सुरुआतबाटै खेलाइएको थियो । जसमा उनले खेलको १३औं मिनेटमै गोल गर्न सफल भए । लौटारो मार्टिनेजले बक्सअघि उत्कृष्ट ढंगले बल छलाउँदै दिएको क्रस पासमा अल्भारेजले पोस्ट अघिबाट सहजै गोल गरेका थिए । उनको गोलमा मार्टिनेजले निकै मेहनत अवसर तयार पारेका थिए । अल्भारेज इंग्लिस क्लब म्यानचेस्टर सिटीबाट खेल्छन् ।

पहिलो गोलपछि पनि अर्जेन्टिनाले खेलमा ३ पटक गोलमा अवसर सिर्जना गरेको थियो । तर, दोस्रो गोल भने हुन सकेन । पहिलो हाफमा अर्जेन्टिनाले खेलमा ७० प्रतिशतभन्दा बढी बल पोजिसन आफूसँग राखेर खेल्दा जमैकाको पोस्टमा ११ पटक सट हानेको थियो । उता, जमैकाले भने पहलिो हाफमा अर्जेन्टिनाको पोस्टमा एकपटक पनि सट प्रहार गर्न सकेन । अफ् टार्गेट र अन टार्गेट सट दुवै जिरो बन्यो ।