असोज १२, २०७९ बुधबार

नेपालमार्ग, काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रले वीरगंजस्थित कृषि औजार कारखाना सञ्चालन गर्न सम्झौता गरेको छ । नेपाल सरकारको मन्त्रिपरिषद्ले निर्णय गरेर उक्त कारखानालाई राष्ट्रिय आविष्कार केन्द्रले सञ्चालन गर्ने सम्झौता भएको हो । मंगलबार अर्थमन्त्री जनार्दन शर्माको उपस्थितिमा हस्ताक्षर भएको हो । उक्त कारखाना ३० वर्षदेखि पूर्ण रूपमा बन्द रहेको थियो ।

 

सम्झौताका प्रमुख बुँदाका सारहरू यस्ता छन्ः
१) उक्त कारखाना नेपाल सरकार कै नाममा हुने छ । राष्ट्रिय आविष्कार केन्द्रलाई १० वर्षका लागि मृत कारखानालाई नयाँ जीवन दिने जिम्मा मात्र दिएको हो । यसरी सो कारखाना प्राइभेट कम्पनीको हातमा जानबाट बच्नेछ ।
२) उक्त कारखाना सञ्चालनका लागि सह–सचिवको नेतृत्वमा एउटा सञ्चालक समिति बन्ने छ, जसले कारखानाको चल–अचल सम्पत्तिको अभिलेख तयार गरी सो कारखाना आविष्कार केन्द्रलाई जिम्मा दिनेछ ।
३) सञ्चालक समितिले आविष्कार केन्द्रको सिफारिसमा कार्य योजना स्वीकृत गर्नेछ ।
४) उक्त जीर्ण कारखानाको मर्मत सम्भार गर्न र नयाँ मशीनरी औजार थप्नका लागि एक पटक मात्र संचालक समितिले सिफारिस गर्नेछ र अर्थ मन्त्रालयले बजेट व्यवस्था गर्नेछ ।
४) उक्त कारखानाको कम्पाउण्डभित्र नै राष्ट्रिय आविष्कार केन्द्रले एउटा छुट्टै अनुसन्धान तथा आविष्कार केन्द्र र एउटा तालिम केन्द्र पनि खोलेर संचालन गर्ने छ ।
५) कारखानामा आविष्कार केन्द्रले विभिन्न किसिमका कृषि औजारहरू उत्पादन गर्नेछ । ती कृषि औजारहरूको बिक्रि वितरणबाट सम्पूर्ण खर्च र कर कट्टा गरी बचेको चोखो नाफाको ५० प्रतिशत रकम राष्ट्रिय आविष्कार केन्द्र कोषमा जाने छ र चोखो नाफाको ५० प्रतिशत रकम सरकारको राजस्व खातामा जानेछ ।

अब उक्त कारखानालाई पहिला मर्मत सम्भार गर्ने र त्यसपछि नयाँ–नयाँ मशीनहरू थपेर एक वर्षभित्र कारखाना पूर्ण रूपमा सञ्चालनमा ल्याइने केन्द्रका अध्यक्ष महावीर पुनले बताएका छन् । कारखानाको मशीन र भवनहरूको मर्मत सम्भार र पुनर्निर्माण गर्न करिब १० करोड लाग्ने अनुमान छ ।