असोज १२, २०७९ बुधबार

वीरगञ्ज – पर्साको विभिन्न नाकाबाट प्रहरीकै मिलोमतोमा ठूलो मात्रामा तस्करी भइरहेको पाइएको छ । प्रहरीकै सक्रियता तथा संरक्षणमा वीरगन्जको विभिन्न नाकाबाट व्यपक तस्करी भइरहेको स्रोतले जनाएको छ ।

प्रहरीको माथिलो निकाय र युनिटहरुकै प्रत्यक्ष निर्देशनमा 'एनि हाउ माल कमाउ' धन्दामा लाग्न निर्देशन आएको हुँदा सोअनुरूप काम भइरहेको प्रहरी संगठनकै इमान्दर सिपाहीहरूको भनाइ छ । तस्कर तथा तस्करीलाई प्रहरीकै संरक्षण भएपछि वीरगञ्ज भन्सार क्षेत्रमा तस्करहरूकै रजाइ रहेको छ ।

अवैध ढंगले हुने राजस्व दोहनलाई नियन्त्रण गर्नका लागि सीमाहरूमा खडा गरिएको सिङ्गो युनिट नै अवैध करोबारीहरूसँग लागेपछि वीरगंजका केही नामुद तस्करहरूको जयजय भएको छ भने राज्यको करोडौँ राजस्व दिनहुँ चुहावट भइरहेको छ ।

लामो समयदेखि तस्करी धन्दामा रहेर नाम कमाएका मदन रुन्चे, हरेन्द्र पटेल, बली लगाएतका दर्जनौं तस्करहरू दिनहुँ वीरगंजको छपकैयाबाट खुल्मखुल्ला कपडा तस्करी  गरिरहेका छन् ।

ती तस्करहरूलाई इलाका प्रहरी कार्यालय छपकैयाका वरिष्ठ सई अशोक बस्नेतको निर्देशनमा कपडाको तस्करी लाइन दिइएको बुझिएको छ ।

तस्करहरूसँग सेटिङ मिलाउन मुख्य भूमिका प्रहरी हवल्दार मोहन यादवले गर्ने गरेको जनाइएको छ । यादव इलाका प्रहरी कार्यालय  छपकैयाका घुमुवा हुन् । कसलाई लाइन दिने-नदिने, कोसँग कति पैसा लिने भन्ने सबै यादवको हातमा रहेको छ ।

तस्करहरूले दिन र रातमा गरी ४०० देखि ५०० पोका मोटरसाइकल मार्फत छपकैया हुँदै सिमा नाकाबाट वीरगन्जमा कपडा ल्याउने गरेको तथा पछि वीरगन्ज हुँदै हेटौंडा , नारायणघाट र काठमाडौँसम्म पु¥याउने गरेका छन्। वीरगन्जका ट्रान्सपोर्ट सञ्चालक हरदेव यादव र उनका कारोबारी पार्टनरका रूपमा अर्का कारोबारी ईमरान लगाएतका दर्जनौं तस्करहरू इनरुवा गाउँ नाकाबाट इनरुवा गाउँ चौकीका प्रसनि बलबहादुर तामाङको मिलेमतोमा व्यापक कपडा र पटखाको तस्करी गरिरहेका छन् ।

यसरी मातहतका प्रहरी कर्मचारीहरू तस्करमा संलग्न रहेको भए पनि जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी अधिकारी आफूहरूलाई सोबारे केही थाहा नरहेको भन्दै झरा टार्ने गरेका छन् । छपकैया नाका तस्कर र तस्करीका कारण गन्हाइसकेको छपकैयावासीहरूको गुनासो छ ।

प्रहरीकै मिलोमतोमा तस्करी भइरहेको विषयमा वरिष्ठ सई बस्नेतसँग प्रतिक्रिया लिन खोज्दा यो सबै कुरा झुठा तथा कपोल्कल्पित रहेको बताउँदै आएका छन् । तर सो क्षेत्रका स्थानीहरूले धेरै पटक उनले नै तस्करहरूलाई मोबाइल र इसाराले ग्रिन सिग्नल दिने गरेको देखेको बताउँछन् ।