असोज १३, २०७९ बिहिबार

काठमाडौँ — डेंगु निको भइसकेकाहरूमा कपाल झर्ने समस्या देखिएको छ । संक्रमणमुक्त भए पनि रोग प्रतिरोधक क्षमता कम भएका वा दीर्घरोगीमा कमजोरी, हाडजोर्नी तथा मांसपेशी दुखाइको असर लामो समय रहने विज्ञ बताउँछन् ।

हालसम्म ७७ जिल्लामै २७ हजार ५ सय ६९ जनामा डेंगु संक्रमण देखिएको छ भने ३६ जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालले डेंगु संक्रमण निको भएपछि देखिएका स्वास्थ्य समस्या र जटिलताबारे क्लिनिकल विज्ञसँग बसेर आवश्यक निर्णय लिइने बताए । निद्रा नलाग्ने, मुटुको चाल बढ्ने, स–साना कुरामा झिँझो लाग्ने, रिंगटा लाग्ने, आँखाको गेडी दुख्ने, मानसिक समस्या, चिन्ता, काममा मन नलाग्ने, आत्तिने, छालामा बिमिरा देखिने, चिलाउने जस्ता समस्या लामो समयसम्म देखिन सक्ने विभिन्न अध्ययनले देखाएको छ ।