असोज १३, २०७९ बिहिबार

बाजुराको त्रिवेणी नगरपालिका-७ को नाटेश्वरी मन्दिरमा नवरात्रको पूजा गर्ने वेला मन्दिर प्रवेश गरेको भन्दै दलित समुदायका टेकेन्द्र सुनारमाथि कुटपिट भएको छ ।

पुर्ख्यौली घर बुढीगंगा नगरपालिका वडा नम्बर ५ नुवाघर भई हाल कञ्चनपुर बस्दै आएका सुनारमाथि कुटपिट भएको बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्यबहादुर थापाले जानकारी दिए । पीडित सुनारले प्रहरीमा आफू कुटिएको भन्दै निवेदनसमेत दिएका छन् । त्रिवेणी नगरपालिका ७ का वडाध्यक्ष जुद्धबहादुर अयडीको समूहले आफूमाथि कुटपिट गरेको निवेदनमा उल्लेख छ । प्रहरीले सोधपुछका लागि अयडीलगायतलाई नियन्त्रणमा लिएको छ ।

डीएसपी थापाका अनुसार पीडित सुनारले उनीहरूले आफूसँग भएको ६० हजार रुपैयाँसमेत लुटेर लगेको दाबी गरेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।