विराट्नगर। मोरङको ग्रामथानलाई केही समययता जुवाको अखडा बनाइएको छ । अन्जान व्यक्तिको समूह हुलका हुल गाउँपालिकाको विभिन्न स्थानमा आफ्नो अखडा बनाएर जुवा खेल्ने गरेको रहस्य बाहिर आएको छ।
यहाँ खेलिने जुवा करोडौँ रकमको हुने गरेको स्थानीय युवा समाजसेवी शेखर विश्वासले बताए।
"थारु बाहुल्य भएको हाम्रो यस पालिकालाई हामीले देशभरि नै हाम्रो जातीय पहिचान र संस्कृतिको आधारमा प्रचारप्रसार गरेर चिनाउने कोशिशमा दिनरात खटिरहेका छौँ । तर केही स्थानीय नेता तथा आफूलाई समाजसेवी बताउने व्यक्तिहरूको मिलेमतोमा देशका विभिन्न स्थानबाट दर्जनौँ जुवाडेहरू हाम्रो ग्रामथान गाउँपालिकामा आएर जुवाको ठूलो खेल गराइ समग्र गाउँपालिकाको नै बदनाम गराएको छ ।" विश्वासले भने ।
विशेषगरी ग्रामथान गाउँपालिका वडा न ३, ४ र ५ मा अत्याधिक मात्रामा जुवाको खेल हुने गरेको स्थानीय रामनारायण खाँ थारूले बताए । उनले भने "हवाइजहाज चढेर भीआईपीहरू जुवा खेल्न आउँछन् । यस विषयमा कसैले आवाज उठाए सुरुमा पैसाको प्रलोभन दिएर फकाउँछन् ।" मानेन भने विभिन्न प्रकारको धम्की आउने गरेको उनले बताए। यसरी जुवा खेलाइराख्दा स्थानीय पालिका मौन छ । "पटक-पटक आवाज उठायौँ तर हाम्रो आवाजलाई दबाउन खोजियो" थारूले भने।
खेतको बीचमा पङ्खा लगाएर बत्ती बालेर पुरै सुविधाका साथ जुवा खेलाउने गरेको स्थानीय नमोनारायण माझी बताउँछन् ।