बैशाख ४, २०७८ शनिबार

एजेन्सी । स्पेनिस नकआउट फुटबल प्रतियोगिता कोपा डेल रेको उपाधिका लागि सर्वाधिक धेरै ३०औं पटकको विजेता टोली बार्सिलोनाले एथ्लेटिक बिल्बाओको सामना गर्दै छ ।

नेपाली समयअनुसार आज राति १ः१५ बजे हुने फाइनल खेल सेभिल्लास्थित स्टेडियो डी कार्टुजामा हुनेछ ।

बार्सिलोना र एथ्लेटिकले पुनः एक पटक फाइनल खेल खेल्दै छ । यसअघि बार्सिलोना र एथ्लेटिकले सुपर कपको फाइनलमा प्रतिस्पर्धा गरेका थिए । जसमा एथ्लेटिकले बार्सिलोनालाई ३–२ गोलले हराउँदै उपाधि उचालेको थियो । बार्सिलोना सोही हारको बदला लिने दाउमा रहनेछ । भने यता बिल्बाओ सोही जित निकाल्ने योजनामा रहेको छ ।  

बिल्बाओले लेभान्टेमाथि समग्रमा ३–२ को जितसहित फाइनलमा स्थान बनाएको हो । बार्सिलोनाले भने सेभिल्लालाई समग्रमा ३–२ गोलको जित निकाल्दै उपाधि नजिक पुगेको हो ।