बैशाख ४, २०७८ शनिबार

झापा । झापाको बाह्रदशी गाउँपालिकामा शुक्रवार साँझ आएको हावाहुरीले ठुलो क्षेत्रफलमा लगाएको केरा खेतीमा नराम्ररी क्षति पुर्‍याएको छ ।

वर्षासहित आएको हावाहुरीले झापाको बाह्रदशी गाउँपालिकाको बत्तीसबिघा क्षेत्रमा  माता कोला खेती तथा कृषि फर्मले १५० बिगाहा क्षेत्रफलमा लगाएको केरा खेतीमा क्षति पुर्‍याएको हो ।

केरा खेतीमा भएको क्षतिबाट ३० लाखभन्दा बढीको नोक्सानी भएको अनुमान छ ।

वर्षभरि दुःख गरेर लगाएको केरा खेतीबाट उत्पादन लिने बेलामा हावाहुरीले सबै बोट भाँचेर नष्ट हुँदा किसानहरू मर्कामा परेका छन् । करिब ३० बिगाहा क्षेत्रफलमा लगाइएको केरा हावाहुरीले लडाएर नष्ट गरी क्षति पुर्‍याएको छ ।

जिल्लामै केरा खेतीको लागि पकेट क्षेत्र रहेको सो क्षेत्रमा उत्पादन हुने केरा झापासहित मोरङ, सुनसरी तथा काठमाडौँका विभिन्न बजारमा खपत हुँदै आएको छ ।