बैशाख ५, २०७८ आइतबार

एजेन्सी . स्पेनिस नकआउट फुटबल प्रतियोगिता कोपा डेल रेको  उपाधि बार्सिलोनाले जितेको छ । शनिबार राति भएको फाइनल खेलमा एथ्लेटिक बिल्बाओमाथि ४–० गोलको शानदार जित निकाल्दै बार्सिलोनाले उपाधि जितेको हो ।

सेभिल्लास्थित स्टेडियो डी कार्टुजामा बार्सिलोनालाई जिताउन कप्तान लियोनल मेस्सीले २ गोल गरे भने एन्टोइन ग्रिजम्यान र फ्रेन्की डी योङले समान १ /१ गोल गरे ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा १२ मिनेटभित्र बार्सिलोनाले चार गोल गरेको थियो । ६०औँ मिनेटमा ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाए ।

त्यसको तीन मिनेट नबित्दै डी योङले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए । ६८औँ मिनेटमा मेस्सीले गोल गरेपछि बार्सिलोना ३–० गोलले अगाडि बढ्यो । त्यसको चार मिनेट नबित्दै मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ४–० गोलको जित दिलाए ।

यससँगै बार्सिलोनाले सर्वाधिक धेरै ३१ पटक कोपा डेल रेको उपाधि जितेको छ ।