असोज २४, २०७९ सोमबार

क्रिकेटर सन्दीप लामिछानेलाई म्याद थपका लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइँदै छ । बिदाका कारण अदालत बन्द रहेका कारण सोमबार मात्र म्याद थपका लागि अदालत लाग्न लागिएको हो । प्रहरी स्रोतका अनुसार आज दिउँसोसम्ममा लामिछानेलाई अदालत लैजाने तयारी गरिएको छ ।

नाबालिगमाथि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा लामिछाने बिहीबार पक्राउ परेका थिए ।

जाहेरी दिने नाबालिगको उमेर १७ वर्ष रहेको भनिएको छ र १७ वर्ष उमेर निश्चित भएमा सन्दीपमाथि मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा ३ घ अनुसार सजायको मागदाबी गर्दै मुद्दा दर्ता हुनेछ । दफा २१९ को उपदफा ३ घ मा पीडित नाबालिगको उमेर १६ वर्षभन्दा माथि र १८ वर्षभन्दा कम उमेरको भए १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । 

साथै सोही संहिताको दफा २२८ मा क्षतिपूर्ति भराउने व्यवस्थासमेत रहेको छ । सोही व्यवस्थालाई हेर्दा पीडकबाट पीडितलाई क्षतिपूर्ति भराउने सम्बन्धमा पनि वादीले मागदाबी लिन सक्नेछ ।