असोज २४, २०७९ सोमबार

सन्दीप लामिछानेकी वकिल सुधा रिजालले सोमबार काठमाडौं जिल्ला अदालतबाहिर पत्रकारसँग कुराकानी गर्दै पीडित भनिएकी युवती नाबालिग नभएको दाबी गरेकी छिन्।

सन्दीप लामिछानेले इजलासमा पनि न्यायाधीश दयाराम ढकालसमक्ष आफूलाई पीडित युवतीले १९ वर्षको भनेर जानकारी गराएको बताएको अर्का वकिल सरोजकृष्ण घिमिरेले बताए । पीडितका कागजातबारे भने आफू अनभिज्ञ रहेको उनले बताए।

‘उमेरको विषयमा म अझै अनभिज्ञ छु। मसँग कागजातहरू भएन। मैले अर्को वकिलसँग बुझ्न पनि पाएको छैन,’ उनले भने, ‘सन्दीपले श्रीमानसमक्ष बाटोमा कुराकानी हुँदा पीडितले आफू चाहिँ १९ वर्षकी हुँ भनेर तीनचोटिसम्म भनेको भनेर भन्नुभएको छ।’

यस्तै, यस मुद्दालाई चाँडो टुंगोमा पुर्‍याउन पनि वकिलहरूले माग गरेका छन्।

काठमाडौं जिल्ला अदालतले उनलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। असोज २० गतेदेखि लागू हुने गरी हिरासतमा राख्न प्रहरीले अनुमति पाएको हो। 

जाहेरी आएकै दिन प्रहरीले नाबालिगको स्वास्थ्य परीक्षण गराएको थियो। यस्तै, उनी पुगेको काठमाडौंको होटलबाट सिसिटिभी फुटेज पनि प्रहरीले संकलन गरिसकेको छ।

त्यसमा उनी करिब ७ घन्टा होटलमा बसेको देखिन्छ।