असोज २५, २०७९ मंगलबार

काठमाडौँ । करिब डेढ वर्षपछि नेपाल आयल निगम नाफामा गएको निगमका प्रवक्ता विनीतमणि उपाध्यायले बताएका छन् ।

‘निगम डेढ वर्षपछि नाफामा गएको छ’, उनले भने, ‘अहिले निगम १ अर्ब १४ करोड नाफामा रहेको अनुमान गरिएको छ ।’

उनका अनुसार निगमले इन्डियन आयल कर्पोरेसन (आईओसी) लाई पुरानो १६ अर्ब र पछिल्लो समयको २४ अर्ब गरी ४० अर्ब बक्यौता तिर्न बाँकी छ । नेपाल सरकारले उपलब्ध गराएको ७ अर्ब र निगमको जग्गा राखेर लिएको ३ अर्बको ब्याज तिर्न वार्षिक १ अर्ब ६५ करोड लाग्ने उनले बताए ।

निगमका अनुसार अहिले हवाई इन्धनमा प्रतिलिटर ५१ रुपैयाँ फाइदा छ । पेट्रोलमा १६ रुपैयाँ, डिजेलमा ९ रुपैयाँ र मट्टीतेलमा प्रतिलिटर ३८ रुपैयाँ निगमलाई नाफा रहेको छ ।

त्यस्तै निगमलाई खाना पकाउने एलपीजी ग्यासमा भने प्रतिसिलिन्डर ३२५ रुपैयाँ घाटा रहेको छ । ग्यासबाहेकका सबै पेट्रोलियम पदार्थमा नाफा रहेको छ । अहिले पेट्रोलियम पदार्थमा निगमलाई प्रतिलिटर ५१ रुपैयाँसम्म फाइदा भइरहेको छ ।