पर्वत: प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव तेज बहादुर गुरुङले नवौँ राष्ट्रिय खेलकुदको पूर्व सन्ध्यामा अवकाश पाएका छन्। ६० वर्षे उमेर हदबन्दीका कारण सदस्य सचिव गुरुङले अनिवार्य अवकाश पाएका हुन्। खुला प्रतिस्पर्धा मार्फत १९ महिना अघि प्रदेश खेलकुद परिषद् गण्डकीको स्थापनासँगै चार वर्षका लागि गण्डकी प्रदेश सरकारबाट नियुक्ति पाएका थिए।
गण्डकी प्रदेशमा ३९ वर्ष पछि आयोजना हुन गइरहेको नवौँ राष्ट्रिय खेलकुदको तयारी र प्रतियोगिता चलिरहँदा गुरुङको अवकाश सँगै प्रदेश खेलकुद परिषद् भने नेतृत्व विहीन हुन पुगेको छ। गण्डकी प्रदेश खेलकुद परिषद्को कार्यकारी तहबाट अवकाश पाउनुअघि पत्रकार सम्मेलनको आयोजना गरी सदस्य सचिव गुरुङले यसलाई नियमित प्रक्रिया रहेको बताए।
‘१९ महिनाको अवधिमा प्रदेशको खेलकुदलाई चुनौतीपूर्ण घडीमा स्थापित गर्न हामीले जुन भूमिका खेल्यौँ त्यो महत्त्वपूर्ण र उपलब्धिमूलक रहेको छ’, उनले भने, ‘मैले अवकाश पाउनु भन्दा तीन महिना अघि नै प्रदेश सरकारलाई यस विषयमा जानकारी गराएको हुँ। आफ्नो कार्यकालको अन्तिम समय सम्म सक्रिय रूपमा काम गरेर खेलकुदको विकासका लागि सकेसम्मको योगदान गरेँ।’
अवकाश हुनुअघि सदस्य सचिव गुरुङले जारी गरेको प्रेस विज्ञप्तिमा ‘हाम्रो समाज र नेतृत्वले खेलकुद प्रतिको बुझाई धेरै सकारात्मक नभईसकेको अवस्थामा हाम्रा स्रोतमा धेरै सीमितता रहन्छ भन्ने कुरामा पूर्व अनुमान रहेकै विषय थियो। जुन हाम्रो निम्ति प्रमुख चुनौती थियो। तर त्यो चुनौतीलाई चिर्दै हामीले उपलब्धिमूलक रूपमा प्रदेशको खेलकुदलाई चलायमान बनाउन भूमिका मात्रै खेलेनौँ निश्चित गन्तव्य र त्यहाँ पुग्नका लागि ठोस रणनीतिक योजना तय गर्यौं’, भनेर लेखिएको छ।
खेलकुदका लागि पोखरा राम्रो आयोजक र व्यवस्थापक रहेको तर समग्र खेलकुदको नतिजाको दृष्टिकोणले नतिजामुखी बन्न नसकेको तितो यथार्थ रहेको बताउँदै उनले यसका लागि भिजन र मिसन समेत तयार गरी चार खम्बे रणनीतिक योजनाहरूका साथ अघि बढेको बताए।
प्रदेशको ‘भिजन स्टेटमेन्ट’ को रूपमा ‘राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद’ लाई सर्वव्यापी बनाउन प्रयास गरिएको पनि उनको भनाइ छ। सोही परिणाम अनुसार उत्कृष्ट खेलाडी उत्पादन र सुनिश्चित जीवन शैली, अनुसन्धानात्मक कार्य, सबैका लागि खेलकुद, क्षमता अभिवृद्धि र सुशासन, पूर्वाधार एवं श्रोत परिचालन जस्ता महत्त्वपूर्ण कार्यक्रमहरू सम्पन्न गरी उपलब्धिमूलक रूपमा नतिजा प्राप्त गरिएको गुरुङले दाबी गरे।
सो अवसरमा प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष धोज कुमार गुरुङ र सदस्य सचिव गुरुङले प्रदेश खेलकुद परिषद् गण्डकीले प्रकाशित गरेको ‘खेल्छ गण्डकी’ बुलेटिन संयुक्त रूपमा विमोचन पनि गरेका थिए।