असोज २६, २०७९ बुधबार

केपिलासगढी गाउँपालिकाले पालिकाभित्रका खेलाडीलाई पुरस्कृत गर्ने

खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकाले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत प्रदेश स्तरीय छनोटमा विजयी भएका गाउँपालिकाभित्रका खेलाडीलाई पुरस्कृत गर्ने भएको छ । प्रदेश छनोटको विभिन्न विधामा स्वर्ण, रजत र कास्य पदक जितेका खेलाडीहरुलाई पुरस्कृत गर्ने भएको हो ।

प्रदेश स्तरीय छनोटमा केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका दिर्पा बस्नेतले एथलेटिक्स र केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरका मोहन राईले तेक्वान्दोमा स्वर्ण पदक जितेका छन् ।

केपिलासगढी गाउँपालिका–४ बाक्सिलाकै नविन र्राइले टिम फाईटमा र महिला भलिबलमा केपिलासगढी गाउँपालिका–७ सुङदेलका शिखा कोयी राई, केपिलासगढी गाउँपालिका–६ दिप्सुङका रङगुना राई र अनुकला राई तथा केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका विनिता राईले रजत पदक जितेकी छन् ।

यस्तै, तेक्वान्दोमा केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका विवेक राई, बाक्सिलाकै रेजिना राई र सोही ठाउँका समला राईले पनि रजत पदक जितेका छन् । १६ भदौदेखि ३० भदौसम्म सुनसरी र झापामा प्रदेश स्तरीय छनोट भएको थियो ।

प्रदेश छनोटमा विभिन्न विधामा विजयी भएका गाउँपालिकाभित्रका खेलाडीहरुलाई चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम अनुसार पुरस्कृत गर्ने तयारी गरिएको गाउँपालिका अध्यक्ष समिर राईले बताउनुभयो ।

कराते खेलाडीलाई निर्णायक बिचारी तामाङले दिए पुरस्कार

सितोरियो करातेका अन्तर्राष्ट्रिय निर्णायक बिचारी तामाङले करातेमा स्वर्ण, रजत र कास्य पदक जितेका खेलाडीलाई विधागत पुरस्कार प्रदान गर्नुभएको छ । नवौं राष्ट्रिय खेलकुदका लागि प्रदेश स्तरीय छनोट अन्तर्गत विभिन्न विधामा विजेता भएका खेलाडीहरुलाई नगद पुरस्कार प्रदान गर्नुभएको हो ।

प्रदेश स्तरीय छनोटमा विजेता खेलाडीलाई पुरस्कार दिने भनि २१ भदौमा गरिएको घोषणा अनुरुप तामाङ र उनका श्रीमती कमला तामाङले कभर्डहलमा पुगेर प्रति स्वर्ण पाँच हजार, प्रति रजत तीन हजार र प्रति कास्यलाई दुई हजारका दरले विधागत पुरस्कार प्रदान गर्नुभएको छ ।

प्रदेश स्तरीय छनोटमा महिला टिम कातामा रोश्मा राई, विद्याकला राई, समिता राई, महिला कुमितेको ५५ केजी तौलमा विद्याकला राई, महिला कुमितेको ६१ केजी तौलमा कन्चन नेपाली, महिला कुमितेको प्लस ६८ केजी तौलमा मिसडोना राई, महिला टिम कुमितेमा विद्याकला राई, कन्चन नेपाली र संजिता राई तथा पुरुष कुमितेको ७५ केजी तौलमा रुरिहाङ दुमी राईले स्वर्ण जितेका थिए ।

यस्तै, पुरुष कुमितेको ५५ केजी तौलमा सुर्यचन्द्र राई, पुरुष कुमितेको ८४ केजी तौलमा ईश्वरधन राई, पुरुष टिम कुमितेमा सुर्यचन्द्र राई, रुरिहाङ दुमी राई, नविन राई, योगदान राई र संयोग भुजेलले रजत पदक जितेका थिए । एकलकाता पुरुषमा मोतिचन्द्र राई र ६८ केजी महिला कुमितेमा युमासाम राईले कास्य पदक जितेकी थिईन् ।

जिल्ला खेलकुद विकास समितिका प्रमुख प्रशिक्षक समेत रहेका तामाङले खेलाडीलाई प्रोत्साहन स्वरुप विधागत ४३ हजारमा दुई हजार थप गरेर ४५ हजार व्यक्तिगत रुपमै पुरस्कार प्रदान गरेको जनाएको छ । यसैगरी, २८ असोजदेखि ३ कात्र्तिकसम्म पर्वतको कुश्मामा हुने नवौ राष्ट्रिय खेलकुद अन्तर्गत करातेमा स्वर्ण जित्नेलाई २५ हजार ५५५, रजत पदकलाई १५ हजार ५५५ र कास्य पदकलाई ११ हजार १११ रुपैयाँ दिने तामाङले यसअघि नै घोषणा गरिसक्नु भएको छ ।