बैशाख ६, २०७८ सोमबार

स्थानीय वायु सक्रिय भएर पानी पर्ने तथा हावाहुरी चल्ने क्रम जारी रहँदा वायु प्रदूषणको तह कम भएको मौसम तथा वातावरण विदले बताएका छन् ।

गएको वर्षको मनसुन सकिएपछि हिउँद तथा प्रि मनसुनको सुरुवाति अवधिमा पानी नपर्दा तथा विभिन्न स्थानमा लागेको डढेलो एवम् मानवीय गतिविधिका कारण हप्तादिन अघिसम्म जोखिमपूर्ण तहमा रहेको काठमाडौँसहितका क्षेत्रको वायु प्रदूषण अहिले कम भएको वातावरण विभागले जनाएको छ।

वायुको गुणस्तर मापन गर्ने आइक्यू एअरका अनुसार काठमाडौँ अहिले विश्वका प्रदूषित शहरको सूचिमा १५ स्थानमा छ। काठमाडौँको एअर क्वालिटी इन्डेस्क (एक्यूआई) ११२ रहेको छ।

काठमाडौँ झण्डै दुई हप्ता विश्वका प्रदूषित शहरको शीर्ष स्थान वा त्यस वरपर रहेको थियो। अहिले भने पानी पर्ने तथा हावाहुरी चल्ने क्रम सुरु भएकाले वायुमण्डलमा जमेर रहेको धुलोका कणहरु पखालिएको वा बढारिएका कारण सफा भएको मौसमविदले बताए।

मौसमविदले भने, ‘हिउँदभर पानी परेन । प्रि मनसुनको सुरुवात -मार्चदेखि सुरु हुने पनि पानी परेन। त्यसले गर्दा वायुमण्डल स्थिर अवस्थामा थियो। अहिले पानी पर्दा तथा हावा चल्दा फोहोर सफा भएको छ। भिजिबिलिटी बढेको छ। वायुमण्डल पनि पक्कै सफा देखिएको छ।’

उनले भने, ‘यो समय प्रि मनसुन० मा स्थानीय वायु सक्रिय हुने र त्यसमा पश्चिमी मौसमी प्रणालीको पनि केही साथ हुन्छ। यस्तोमा स्थानीय रुपमै बादलको विकास हुने र त्यो पश्चिमबाट पूर्व तिर जाने हुन्छ। यसले गर्दा पानी पर्ने, हावाहुरी चल्ने तथा चट्याङ्गको जोखिम बढि हुन्छ।’

पानी पर्दा देशका विभिन्न स्थानमा लागेको डढेलो नियन्त्रणमा आउने क्रम जारी रहेका कारण पनि वायु प्रदूषण कम हुन सहयोग पुगेको वातावरण विभागको भनाइ छ।

वन विभाग अन्तर्गतको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीका अनुसार अहिले देशका ४३ वन क्षेत्रमा डढेलो सक्रिय अवस्थामा छ।
मौसमविका अनुसार पनि वर्षाले आगो निभाउँदा वायुमण्डलमा धुवाँ मिसिन नपाएका कारण सफा देखिएको छ।

अहिले भइरहेको वर्षा तथा हावाहुरीका कारण वायुमण्डलको सफाई तथा खेतीपातीमा सकारात्मक प्रभाव परेको उनले बताएका छन्।

‘तर हावाहुरी तथा चट्यांगका कारण दुर्घटना पनि हुन सक्छ। सावधानी अपनाउनका लागि आफू वरपरको वस्तुस्थिति नियाल्ने, बिजुलीका पोलहरुको अवस्था हेर्ने तथा सकेसम्म साँझपख चाँडो घर पुग्नु पर्छ’ मौसमविदले भने।

यो हप्ताभर नै घाम लाग्ने तथा बेलुकातिर हावाहुरी तथा चट्यांगसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मार्चमा त्यति चर्को घाम नलागे पनि गएको हप्तादेखि चर्को घाम लाग्न थालेकाले जमिन ताप्न थालेको छ।

जसका कारण स्थानीय रुपमा नै बादल बन्ने क्रम तीव्र देखिएको र यो क्रम आउँदो मे महिनाभर पनि जारी रहने भएकाले सावधानी अपनाउनु पर्ने मौसमविदले बताएका छन्।

गर्मी पनि बिस्तारै बढ्दै जाने उनले बताए। तर वायुमण्डल भने पानी तथा हावाहुरीका कारण सफा हुने क्रम जारी रहने छ।