काठमाडौं । सयपत्री, मखमलीको फूल र झिलिमिली बत्तीको चाड हो तिहार । यस पटकको तिहारमा मखमली महंगो पर्ने भएको छ ।
भाइटीकामा प्रयोग हुने मखमलीको मालाको मूल्य गत वर्षको भन्दा बढी हुने फ्लोरिकल्चर एशोसिएसन नेपालले जनाएको छ । गत वर्ष प्रतिमाला ३५ रुपैयाँ औसत थोक मूल्य रहेको मखमली यसपटक ४० रुपैयाँ प्रतिमाला पर्ने एशोसिएसनका अध्यक्ष मिनबहादुर तामाङले बताएका छन् ।
मखमलीको मालाको माग ४ लाख २५ हजार हुने अनुमान छ । गत वर्ष ४ लाख ५ हजार खपत भएको थियो । नेपाल मखमलीमा आत्मनिर्भर भएको फ्लोरिकल्चरले जनाएको छ । १ लाख मखमलीको माला निर्यातसमेत हुने अनुमान गरिएको छ । यसपटक मखमलीको माला मात्र १ करोड ७० लाख बराबरको कारोबार हुने अनुमान गरिएको छ ।
यता सयपत्रीको मालाका लागि भने आन्तरिक उत्पादनले मात्र नपुग्ने भएको छ । करिब १५ प्रतिशत जति आयात गर्नुपर्ने देखिएको एसोसिएसनले जनाएको छ । आन्तरिक उत्पादनले १७ लाख माला बन्ने र ३ लाख माला आयात गर्नुपर्नेछ । तिहारको ५ दिनका लागि मात्र २० लाखवटा सयपत्रीको मालाको खपत हुने अनुमान गरिएको छ । गतवर्ष १८ लाख १५ हजार मालाको खपत भएको थियो ।