पर्वत: नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष ह्यान्डबलमा गण्डकी, लुम्बिनी, आर्मी र एपीएफले अन्तिम चारमा स्थान बनाएका छन्।
समूह ‘ए’ बाट गण्डकी र विभागीय आर्मीले अन्तिम चारमा स्थान बनाउँदा समूह ‘बी’ बाट विभागीय सशस्त्र र लुम्बिनीले अन्तिम चारमा स्थान बनाएका हुन। सशस्त्रले समूह विजेता र लुम्बिनीले उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनाएका हुन।
पुरुषतर्फको ह्यान्डबलमा समूह ‘ए’ बाट गण्डकी र आर्मीमध्ये विजेता र उप विजेताको टुङ्गो लगाउन बाँकी छ। पाँच टिम रहेको समूह ‘ए’ मा गण्डकी र आर्मी दुवैले लगातार तीन खेल जित्दै अन्त्यमा २७/२७ को बराबरीसँगै समूहको लिग खेललाई अन्त्य गरेका थिए। यस अघि लिगअन्तर्गत आर्मीले चार खेलमा एक सय ७८ गोल गरेको छ भने ६३ गोल खाएको छ। यता गण्डकीले लिग अन्तर्गतको खेलमा एक सय ८४ गोल गरेको छ भने ७४ गोल खाएको छ।
महिला ह्यान्डबल अन्तरगतको खेलमा एपीएफ, गण्डकी प्रदेश, आर्मी र प्रदेश नं. १ अन्तिम चारमा रहेका छन्। समूह ‘ए’ बाट विभागीय एपीएफ समूह विजेता र गण्डकी प्रदेश उपविजेता बन्दै अन्तिम चारमा स्थान बनाएका हुन। महिलातर्फ समूह ‘बी’ बाट विभागीय आर्मी र प्रदेश नं. १ ले सेमिफाइनलमा स्थान बनाएका छन्।
सो समूहबाट आर्मी विजेता र प्रदेश नं. १ उपविजेता बन्दै अन्तिम चारमा स्थान बनाएका हुन। सेमिफाइनलमा एपीएफ र प्रदेश नं. १ बिच खेल हुने छ। त्यस्तै, विभागीय आर्मी र गण्डकी सेमिफाइनलमा खेल्ने छन्।