बैशाख ६, २०७८ सोमबार

काठमाडौँ : राजधानीमा जारी अन्तर्राष्ट्रिय त्रिकोणात्मक टी २० क्रिकेटमा घरेलु टोली नेपालले लगातार दोस्रो जित निकालेको छ । सोमबार आफ्नो दोस्रो खेल खेलेको नेपालले मलेसियामाथि ९ विकेटको जित निकालेको हो । यसअघि नेपालले नेदरल्याड्सलाई पनि ९ विकेटले नै पराजित गरेको थियो ।                                                                                                                                   

कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मलेसियाले दिएको ११० रनको लक्ष्य पछ्याएको नेपालले १२.१ ओभर खेल्दा १ विकेटको क्षतिमा पूरा गर्‍यो ।

नेपालका लागि कुशल भुर्तेलले अजिवित ६१ अर्धशतकीय इनिङ्स खेले । उनले ४१ बलमा ३ चाैका र ५ छक्काको सहायतामा ६१ रन बनाएका हुन् । यसैगरी, आशिफ शेखले ४२ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले अजिवित ६ रन जोडे ।

बलिङतर्फ वीरन्दीप सिंहले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले १६ दशमलव ५ ओभरमा अलआउट हुँदै एक सय ९ रन बनायो ।

मलेसियाका सेद आजिजले सर्वाधिक २७ रन बनाए भने शर्विन मुनियान्डीले २० रन जोडे । शकिव शरिफले १५ रन बनाउँदा शार्जुल इद्रुस र अन्वर अरुदिनले समान ८–८ रन बनाए ।

नेपालका लागि करण केसीले सर्वाधिक ३ विकेट लिए भने सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, शाहब आलम र कुशल मल्ले समान १/१ विकेट लिए ।