असोज ३०, २०७९ आइतबार

काठमाडौं । विश्व लगानीकर्ता सप्ताह-२०२२ का अवसरमा प्रभु क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्ड तथा काठमाडौं जिल्ला अदालत बार एसोसिएसनकोे समन्वयमा जिल्ला अदालत बार एसोसिएसनका अधिवक्ताका लागि एकदिने तालिम कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रम नेपाल हाउस रेष्टुरेन्ट हात्तीसारमा शुक्रबार सम्पन्न भएको कम्पनीले जनाएको छ ।

धितोपत्र बजारमा लगानी गर्दा हुने जोखिम व्यवस्थापनको विषय तथा धितोपत्र बजारमा संलग्न विभिन्न पक्षले पालना गर्नुपर्ने नीति नियमप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सेक्युरिटी रिस्क मेनेजमेन्ट एण्ड लिगल इस्युजबारे कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।

विश्व लगानीकर्ता सप्ताह इन्टरनेसनल अर्गनाइजेसन अफ सेक्युरिटिज कमिसनको आहृवानमा प्रत्येक वर्ष अन्तर्राष्ट्रियस्तरमा सेयर लगानीसम्बन्धी विविध कार्यक्रम गरी मनाइने गरिन्छ । कार्यक्रममा जिल्ला अदालत बार एसोसिएसनका अध्यक्ष रामचन्द्र पौडेल (आरसी विमल), प्रभु क्यापिटलका बोर्ड डाइरेक्टर डा. भरत सिंह थापाको उपस्थिति रहेको थियो भने प्रभु क्यापिटलका प्रमुख लगानी अधिकृत दुर्गानन्द झा, बोर्डका कानुनी विभागका एक्टिङ डाइरेक्टर राजाराम दुवालले प्रशिक्षण दिनुभएको थियो ।

एसोसिएसनका उपाध्यक्ष पुरुषोत्तम अधिकारी, सचिव उज्वलराम श्रेष्ठ, कोषाध्यक्ष सन्तोष भण्डारीलगायत कार्यसमिति सदस्यसमेत गरी करिब ६० जनाको सहभागिता रहेको आयोजकले जनाएको छ ।