कात्तिक २, २०७९ बुधबार

महेश सिंह

नेपाली राजनीतिमा सदावहार सुनिने नाम हो, सरिता गिरी । आगामी प्रतिनिधिसभा चुनावमा गिरीले  सिराहा क्षेत्र नम्बर १ मा उम्मेदवारी दिएकी छिन् । 

उनले फेसबुकमार्फत आफू सिराहा १ बाट उम्मेदवार हुने उल्लेख गरेकी हुन्।  ‘म सिराहा क्षेत्र नम्बर १ बाट निर्वाचन लड्न गइरहेको छु,’ उनले भनेकी छन्, ‘यो आधिकारिक घोषणा हो।’

२०७४ सालमा भएको निर्वाचनमा नेपाली कांग्रेसबाट प्रदीप गिरी निर्वाचित क्षेत्रबाट सरिताले उम्मेदवारी घोषणा गरेकी हुन् ।

बस्तीपुरका गिरी परिवारसँग वैवाहिक सम्बन्धमा बाँधिएकी उनको माइती परिवार भारतको स्वतन्त्रता संग्राम र जयप्रकाश नारायणको सम्पूर्ण क्रान्तिमामा सहभागी थियो । उनको दलीय राजनीति कांग्रेसबाट शुरु भएको हो तर २०५१ सालमा संघीयताका लागि उनी गजेन्द्रनारायण सिंहको पार्टी नेपाल सद्भावना पार्टीमा प्रवेश गरिन् । राजनीतिमा सक्रियय हुँदै २०६५ सालमा सिरहाको लहानमा भएको महाधिवेशनबाट निर्वाचित भएकी उनी नेपाल सद्भावना पार्टी आनन्दीदेवीको केन्द्रीय अध्यक्षको जिम्मेवारीमा रहिन् ।

भारतको विहार राज्यको मानिकपुर गोपालगञ्जमा बुवा विजयबहादुर गिरी र आमा मणिदेवी गिरीकी जेठी छोरीका रूपमा २०१७ साल पुष महिनाको १२ गते जन्मिएकी सरिता गिरीले माध्यमिक शिक्षा विहार राज्यको कोकारो स्टीलमा र उच्च शिक्षा त्रिभुवन विश्वविद्यालय काठमाडौँबाट राजनीतिशास्त्रमा स्नातक र स्नातकोत्तरसम्मको शिक्षा अध्ययन गरेकी हुन् । उनले दिल्लीको जेएनयु विश्वविद्यालयमा पनि ४ वर्ष अध्ययन गरिन् ।

संघीयता आन्दोलनलाई उत्कर्षमा पुगाउन मधेशवादी नेपाल सद्भावना पार्टीमा २०५१ मा प्रवेश गरेकी उनी २०५८ सालको माओवादी युद्धको पृष्ठभुमिमा ५ दलको आन्दोलनमा सुरुदेखि नै सहभागी भइन र १२ बुँदे शान्ति सम्झौतापश्चात् ७ दलीय कार्यदलको सदस्य भई ४ वर्षसम्म गिरीजाप्रसाद कोइराला, प्रचण्ड, बाबुराम भट्टराई, माधव नेपाल, कृष्ण सिटौला, सुभाष नेम्वांगको नजिक भएर काम गर्ने मौका पाइन् ।

२०६४ सालमा गिरीले नेपाल सद्भावना पार्टी आनन्दीदेवीको पार्टीबाट संविधान सभा सदस्य भई संविधान लेखन कार्यमा संगठित भई पटक–पटक भएको लोकतन्त्र, संघीयताका लागि मधेस आन्दोलनमा होमिएर अहम् भूमिका खेलिन्। २०७० सालको निर्वाचनमा संघीय समाजवादी पार्टीको तर्फबाट समानुपातिक सांसद भएकी थिइन् ।

संसद्मा लिम्पियाधुरा, लिपुलेक प्रकरणमा बोलेका कारण सांसद पद गुमाउनु परेको थियो । आउँदो मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा गिरी स्वतन्त्रबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुन्।

काङ्ग्रेस, एमाले र माओवादीले देशमा भ्रष्टाचार मात्र बढाएको गिरीले टिप्पणी गरेकी छिन् । गिरी आफ्नो घोषणापत्रमा नयाँ राजनीतिक विचार, नीति तथा कार्यक्रम लिई जनताबीच आएकी छिन् ।

महेश सिंह