कात्तिक ४, २०७९ शुक्रबार

अष्ट्रेलियामा जारी आइसिसी पुरूष टी—२० विश्वकप क्रिकेटअन्तर्गत समूह बी मा आज हुने  निर्णायक खेलमा सुपर १२ पुग्ने अन्तिम २ टोलीको टुंगो लाग्नेछ।


पहिलो खेलमा दुई पटकको च्याम्पियन वेस्टइन्डिजले आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । खेल नेपाली समयअनुसार बिहान ९ः४५ बजेबाट सुरू हुनेछ। यस खेलको विजेता सुपर १२ मा पुग्ने ११ औं टोली हुनेछ।


यस्तै आजै हुने समूहको दोस्रो खेलमा स्कटल्यान्डले जिम्बावेको सामना गर्नेछ। नेपाली समयअनुसार दिउँसो १ः४५ बजे हुने खेलको विजेता सुपर १२ मा पुग्ने अन्तिम टोली हुनेछ।

समूहका सुरूवाती दुई खेल सकिँदा सबै चार टोलीले समान २(२ अंक जोडेका छन्। त्यसैले आजको खेलमा चारै टोली सुपर १२ मा पुग्ने सम्भावना उत्तिकै छ। जित्ने टोली सुपर १२ पुग्ने र हार्ने टोली बाहिरिनेछन्। 

सुपर १२ को समूह ए मा इंग्ल्यान्ड, अष्ट्रेलिया, न्युजिल्यान्ड, अफगानिस्तान, समूह ए को विजेता श्रीलंका र समूह बी को उपविजेता रहनेछन्। 


यस्तै सुपर १२ को समूह बी मा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेश समूह बी को विजेता र समूह ए को उपविजेता नेदरल्यान्ड् रहनेछन्।