नेपाली बजारमा सुनको अभाव देखिएको छ । तीज लागेसँगै दशै, तिहार र मंसिरमा विवाहको लगनमा नेपाली बजारमा सुनको खपत बढ्ने गरे पनि अभाव देखिएको हो ।
अहिले पनि बजारमा सुनचाँदीको माग उच्च रहेको छ । तर सुनचाँदी व्यवसायीहरूले ग्राहकहरूको मागअनुसार सुनका गरगहनाहरू दिन नसकेको व्यापारीहरू बताउँछन् । उनीहरूले नेपाल सरकारले गत वैशाखदेखि दैनिक २५ केजीसम्म आयात हुने गरेको कोटामा कटौती गरी १० केजीमा झारेकाले अहिले बजारमा सुनको अभाव देखिएको व्यवसायीहरूको गुनासो छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले सुनचाँदीको कारोबार चलायमान हुने समयमा बजारमा सुनचाँदीको अभाव भएकाले व्यवसायीहरू मारमा रहेको बताए । अध्यक्ष शाक्यले बजारमा सुनचाँदीका गरगहना बनाउने कच्चा पदार्थ अभाव रहेकाले ग्राहकहरुको मागअनुसार बजारमा सुनचाँदी दिनसक्ने अवस्था नभएको बताए । उनले गत ६ महिनादेखि सरकारले विदेशी मुद्रा सञ्चितिको कमि भएको भन्दै सुन आयातमा कटौती गर्दा व्यवसायीहरु मारमा परेको गुनासो गरे ।
अध्यक्ष शाक्यले तिहारको विशेष गरेर धनतेरसको दिन ५० केजीसम्म सुनका गहनाहरु बिक्री हुने बताए । शाक्यले सुनको आपूर्ति गर्नमा समस्या भएका कारण यसको आपूर्ति बढाउन सरकारसँग माग राखे पनि चासो नदिएको गुनासो गरे । अध्यक्ष शाक्यले सरकारले तत्काल सुनचाँदी आयातमा गरिएको कोटा कटौती नबढाए बजारमा विकृति बढ्ने बताए ।
अध्यक्ष शाक्ले धार्मिक परम्परागत रुपमा मानिसहरुले आफूलाई धनको कमी नहोस् भनेर तिहारको पहिलो दिन धनतेरसको दिन सुनचाँदीका गहरगहना राखेर लक्ष्मीको पूजा गर्ने प्रचलन रहेको बताए। उनले धार्मिक आस्था अनुसार मानिसहरुको धनको रुपमा सुन,चाँदीका विभिन्न सामग्रीहरुको बिक्री गर्ने र विशेष गरेर धनतेरसको दिन किन्दा वर्षभर नै धनको कमी नहुने र घरमा लक्ष्मीको वास स्थिर हुने विश्वास रहेको बताए ।
सुनचाँदीको कारोबार तिहारको पहिलो दिन धनतेरसमा सबैभन्दा बढी कारोबार हुने गरेको छ । सुनचाँदीको सामान १० दिन अगाडि अर्डर गर्ने र धनतेरशको दिन किन्ने गर्दछन् । धनतेरसको दिन अन्य वर्षभर हुने जस्तो भन्दा धेरै सुनचाँदीको कारोबार हुन्छ । सुनचाँदीको गहरगहना किन्ने मानिसहरुको सुन पसलहरुमा भीड लाग्ने गर्छ । व्यापार पनि धनतेरसको दिन नै सबैभन्दा बढी हुन्छ । पछिल्लो समय नेपाली बजारमा तरलता अभाव भएको भन्दै नेपालीहरुसँग नगद अभाव भएको भनिए पनि बजारमा लाखौंको कारोबार भने भइरहेको छ ।