बैशाख ६, २०७८ सोमबार

 सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जनस्वास्थ्यका मापदण्ड लागू गराउन सम्भव नहुने तथा भीडभाड हुने क्षेत्रलाई बन्द गर्दै पठनपाठनलाई अनलाइन माध्यममा लैजाने निर्णय गरेको छ ।

काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, भरतपुर, काँकडभिट्टा, बिर्तामोड, दमक, बिराटनगर, इटहरी, धरान, बीरगंज, जनकपुर, राजविराज, हेटौंडा, भैरहवा, पोखरा, बुटवल, घोराही, तुलसीपुुर, नेपालगंज, धनगढी, भीमदत्त नगरजस्ता सहर र सदरमुकाममा भौतिकरुपमा उपस्थित नभई शैक्षिक गतिविधि २०७८ बैशाख मसान्तसम्म भर्चुअलरुपमा संचालन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।

बैशाख मसान्तसम्म भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधिहरु अपनाइ संचालन गर्ने, मेडिकल शिक्षाको प्रयोगात्मक कक्षा र पूर्वनिर्धारित परिक्षा जनस्वास्थ्यका मापदण्ड अपनाइ संचालन गर्ने निर्णय गरिएको शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

देशका प्रमुख सहरका कोरोनाको नयाँ भेरिएन्ट भेटिएको र विद्यालय जाने उमेर समूहमा संक्रमण बढ्दै गइरहेकाले यस्तो निर्णय गरिएको मन्त्री श्रेष्ठले बताए । एसईई परीक्षाबारे भने मन्त्रिपरिषद्ले कुनै निर्णय गरेको छैन ।