बैशाख ६, २०७८ सोमबार

सोमवार (आज) देखि दैनिक १७ करोड लिटरका दरले मेलम्चीको खानेपानी वितरण थालिएको छ । गएको चैत १५ गतेदेखि काठमाण्डौ उपत्यकाका उपभोक्ताको धारामा मेलम्चीको पानी वितरण सुरु गरिएको थियो ।

प्रणालीले नधान्ने डरले दैनिक चार करोड लिटरबाट सुरु गरिएको पानी आज १७ करोड लिटरमा पुगेको खानेपानी मन्त्रालयका सचिव माधव बेल्वासेले जानकारी दिनुभयो । १७ करोड लिटर पानी प्रणालीमा पठाउँदा पनि ठूलो समस्या नदेखिएको र यो एकदमै खुसीको कुरा भएको सचिव बेल्वासेको भनाइ छ ।

पुरानै प्रणालीबाट वितरण गरिएका केही ठाउँमा पाइप फुट्ने समस्या देखिए पनि नयाँ प्रणाली र ठूला पाइपमा समस्या नदेखिएको उहाँको भनाइ छ । गएको फागुन १० गते परीक्षणका लागि मुहानबाट सुरुङमा छाडिएको पानी झन्डै २७ किलोमिटर सुरुङ पार गर्दै १२ दिनपछि सुन्दरीजलमा आइपुगेको थियो ।