बैशाख ६, २०७८ सोमबार

काठमाडौ : गत शनिबारबाट कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सुरु भएको नेपाल, मलेसिया र नेदरल्यान्ड्सबीचको त्रिकोणात्मक  अन्तर्राष्ट्रिय टी२० क्रिकेट प्रतियोगिताका बाँकी खेलमा दर्शकलाई मैदान प्रवेशमा निषेध गरिएको छ । 

आज सोमबार नेपाल क्रिकेट सङ्घ (क्यान)ले एक विज्ञप्ति जारी गर्दै सरकारले दिएको आदेशअनुसार दर्शकलाई मैदान प्रवेशमा रोक लगाइएको जनाएको छ ।

त्यस्तै क्यानका सचिव अशोकनाथ प्याकुरेलले विज्ञप्ति जारी गर्दै नेपालमा बढ्दो कोभिड–१९ संक्रमणको असर कम गर्न सोमबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार त्रिकोणात्मक खेलका बाँकी खेलमा दर्शकलाई मैदान प्रवेशमा रोक लगाइएको जनाए ।

मन्त्रिपरिषद्को बैठकले सार्वजनिक कार्यक्रममा २५ जनाभन्दा बढी व्यक्तिहरू उपस्थित नहुन, दर्शकसहितको खेलकुद प्रतियोगिता सञ्चालन गर्न नपाइने आदेश जारी गरेको थियो । सोही आदेशअनुसार क्यानले त्रिकोणात्म खेलका बाँकी खेलमा दर्शकलाई मैदान प्रवेशमा निषेध गरेको सचिव प्याकुरेलले जनाएका छन् ।