बैशाख ७, २०७८ मंगलबार

काठमाडौ : गत शनिबारबाट कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सुरु भएको नेपाल, मलेसिया र नेदरल्याण्डबीचको त्रिकोणात्मक  अन्तर्राष्ट्रिय टी२० क्रिकेट प्रतियोगिता अन्तर्गत आज नेपालले आफ्नो तेस्रो खेलमा पाहुना टोली नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । 

अघिल्लो दुई खेलमा शानदार जित निकालेको नेपाल आज पनि त्यस्तै लय कायम गर्न चाहन्छ । यदि आजको खेलमा पनि नेपाली विजयी भए नेपाल १ खेल अगावै फाइनल प्रवेश गर्नेछ । यसअघि नेपालले पहिलो खेलमा नेदरल्याण्डलाई ९ विकेट र हिजो सोमबार मलेसियालाई पनि समान ९ विकेटले पराजित गरेको थियो । 

त्यस्तै टियु क्रिकेट मैदानमा बाँकी खेलमा दर्शकलाई मैदान प्रवेशमा निषेध गरिएको छ । 

हिजो सोमबार नेपाल क्रिकेट सङ्घ (क्यान)ले एक विज्ञप्ति जारी गर्दै सरकारले दिएको आदेशअनुसार दर्शकलाई मैदान प्रवेशमा रोक लगाइएको जनाएको छ ।

त्यस्तै क्यानका सचिव अशोकनाथ प्याकुरेलले विज्ञप्ति जारी गर्दै नेपालमा बढ्दो कोभिड–१९ संक्रमणको असर कम गर्न सोमबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार त्रिकोणात्मक खेलका बाँकी खेलमा दर्शकलाई मैदान प्रवेशमा रोक लगाइएको जनाए ।

आगामी ११ वैशाखसम्म हुने सिरिज डबल राउण्ड रोबिनको आधारमा भइरहेको छ । सिरिजको शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछन् ।