बैशाख ७, २०७८ मंगलबार

एजेन्सी

भारत सरकारले १८ वर्षमाथि सबै नागरिकलाई कोरोनाभाइरसविरूद्धको खोप दिने घोषणा गरेको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा सोमबार बसेको एक बैठकले मे १ देखि  सुरू हुने तेस्रो चरणको खोप अभियानमा १८ वर्षमाथिका सबै नागरिकलाई खोप दिने निर्णय भएको हो। यसअघि भारतमा ४५ वर्षमाथिकालाई मात्र खोप लगाइन्थ्यो।

प्रधानमन्त्री मोदीले धेरैभन्दा धेरै भारतीयलाई कमभन्दा कम समयमा खोप लगाउनका लागि आफ्नो सरकारले गएको एक वर्षदेखि काम गरिरहेको बताएका छन्। भारतमा गत जनवरी १६ बाट कोरोना खोप लगाउन सुरू गरिएको थियो। सुरूमा स्वास्थ्यकर्मी र अंग्रपंक्तिमा खटिने कर्मचारीलाई खोप लगाइएको थियो। मार्च १ बाट सुरू भएको दोस्रो चरणमा ४५ वर्षमाथिका नागरिकलाई खोप लगाउन थालिएको थियो।

भारतमा अहिले भारत बायोटेक र सेरम इन्स्टिच्युट अफ इन्डियाले बनाएको भ्याक्सिनलाई अनुमति दिइएको छ। भारत बायोटेकले आफैं भ्याक्सिन बनाएको हो भने सेरम अक्सफोर्डरअष्ट्राजेनेकाको भ्याक्सिन उत्पादन गरिरहेको छ। केही दिनअघि भारतले रूसले बनाएको स्पुतनिक(भी लाई पनि आपतकालीन प्रयोग अनुमति दिएको छ।

नागरिकलाई खोप लगाउन प्रदेश सरकारले आफैं खोप किन्न सक्ने पनि निर्णय गरिएको छ। भारतीय खोप निर्माता कम्पनीहरूले आफ्नो उत्पादनको आधा खोप सरकारलाई दिनुपर्नेछ।