बैशाख ७, २०७८ मंगलबार

बाँकेमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ। मेडिकल कलेज, कोहलपुरमा दुवैजनाको मृत्यु भएको हो।

कोहलपुर नगरपालिका वडा नम्बर २ का ७७ वर्षीय बृद्धको सोमबार मेडिकल कलेजमा स्वाब लिइयो । स्वाब दिएपछि उनी घरमा गए । रिपोर्ट पोजिटिभ आएपछि उनलाई अस्पतालमा बोलाइयो । अस्पताल ल्याउदै गर्दा राती ९ बजे गेटमै उनको मृत्यु भयो। बृद्ध टीबी र दमका बिरामी पनि थिए।

कोहलपुर नगरपालिका वडा नम्बर २ कै ३५ वर्षीया महिलाको पनि कोहलपुर मेडिकल कलेजमै मृत्यु भएको छ। स्वास्थ्यमा समस्या आएपछि सोमबार उनलाई अस्पताल ल्याइएको थियो । महिलाको पीसीआर जाँच गरियो । रिपोर्ट नआउँदै उनको दिउँसो ३ बजे मृत्यु भयो । साँझ रिपोर्ट आउँदा पोजिटिभ आयो ।

बाँकेमा योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ६३ जना पुगेको छ । यसैबीच, सोमबार राति अबेरसम्ममा तीनवटा ल्याबबाट निस्केको रिपोर्टमा ३ सय २२ जनालाई कोरोना पुष्टि भएको छ । यो बाँकेको अहिलेसम्मको उच्च हो ।

भेरी अस्पतालमा ३ सय ७५ जनाको जाँच गर्दा २ सय १९ जनालाई कोरोना पुष्टि भएको छ। मेडिकल कलेजमा एक सय ९४ मा ६६ जना, बागेश्वरी ल्याबमा ३७ जनालाई कोरोना पुष्टि भएको छ।