बैशाख ७, २०७८ मंगलबार

अमेरिकाका पूर्व उपराष्ट्रपति वाल्टर मोन्डेलको निधन भएको छ।

जिमी काटर राष्ट्रपति हुँदा उपराष्ट्रपति रहेका वाल्डर २० औँ शताब्दीको अन्त्यतिरका प्रमुख लिबरल डेमोक्र्याट हुन्। उनको ९३ वर्षको उमेरमा निधन भएको परिवारले सोमबार जानकारी दिएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ। सन् १९८४ को चुनावमा राष्ट्रपति उम्मेदवार बनेका वाल्टर रोनाल्ड रेगनसँग पराजित भएका थिए।वाल्टरले आफ्नो मृत्युअघि तयार पारेको वक्तव्य परिवारले जारी गरेको छ। उनले आफू श्रीमती जोन र छोरी एलेनोरको साथमा गएको उल्लेख गरेका छन्। जोनको सन् २०१४ तथा एलेनोरको २०११ मा निधन भएको थियो।

वाल्टर अमेरिकी इतिहासमा प्रमुख राजनीतिक दलका पहिलो राष्ट्रपति उम्मेदवार हुन् जसले आफ्नो रनिङ्ग मेट ९उपराष्ट्रपति उम्मेदवार० का रुपमा महिलालाई छानेका थिए। वाल्टरले सन् १९८४ को चुनावमा उपराष्ट्रपति उम्मेदवारका रुपमा न्यूयोर्ककी डेमोक्र्याटिक सांसद गेराल्डिन फेरारोलाई चयन गरेका थिए। उनले जिमी काटर राष्ट्रपति रहँदा सन् १९७७ देखि १९८१ सम्म उपराष्ट्रपतिको भूमिका निर्वाह गरेका थिए। उनी बिल क्लिन्टन राष्ट्रपति रहँदा सन् १९९३ देखि १९९६ सम्म जापानका लागि अमेरिकी राजदूत पनि बनेका थिए।

वाल्टरले हालैका दिनमा जिमी काटर, बिल क्लिन्टन, राष्ट्रपति जो बाइडेन तथा उपराष्ट्रपति कमला ह्यारिससँग कुराकानी गरेको पारिवारिक प्रवक्ताले बताएका छन्।