बैशाख ७, २०७८ मंगलबार

भारतमा कोरोना भाइरसको महामारीको दोस्रो लहरमा मृत्युदर तीव्र रुपमा बढिरहेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोभिड–१९ का कारढा १७ सय ६१ जनाको ज्यान गएको छ।

सो अवधिमा दुई लाख ५९ हजार १७० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
भारतमा हालसम्म कुल संक्रमितको संख्या एक करोड ५३ लाख २१ हजार ८९ पुगेको छ।

त्यसमध्ये सक्रिय संक्रमितको संख्या २० लाख ३१ हजार ९७७ छ। हालसम्म कोभिड–१९ का कारण भारतमा एक लाख ८० हजार ५३० जनाको ज्यान गएको छ।

संक्रमणसँगै खोप अभियान पनि तीव्र गतिमा चलिरहेको भारतमा अहिलेसम्म १२ करोड ७१ लाख भन्दा बढिले खोप लगाएका छन्।
सोमबार बिहान जारी गरिएको भन्दा मंगलबार बिहान जारी भएको तथ्यांकमा दैनिक संक्रमितको संख्या पछिल्लो २४ घण्टामा अघिल्लो दिनको तुलनामा केही कम देखिएको छ।

सोमबार बिहान जारी तथ्यांकमा २४ घण्टाको अवधिमा दुई लाख ७३ हजार ८१० जना नयाँ संक्रमित थपिएको उल्लेख थियो । तर पछिल्लो २४ घण्टामा अघिल्लो दिनको तुलनामा मृत्यु हुनेको संख्या भने बढेको छ। अघिल्लो दिन कोभिड–१९ का कारण १६ सय १९ जनाको ज्यान गएको थियो।

यसैबिच कोरोना भाइरसबाट संक्रमित भएपछि दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको स्वास्थ्य अवस्था स्थिर रहेको केन्द्रीय स्वास्थ्य मन्त्री हर्षवर्धनले बताएका छन्।

८८ वर्षका पूर्व प्रधानमन्त्री सिंहलाई सोमबार बेलुका भर्ना गरिएको हो।