बैशाख ७, २०७८ मंगलबार

कोरोना भाइरसविरुद्धको खोप अभियान अन्तर्गत पहिलो मात्रा लगाएकाहरुलाई आज (मंगलबार) देखि दोस्रो मात्राको खोप दिन सुरु भएको छ।

सरकारले गएको माघ १४ देखि फागुन १० गतेसम्म पहिलो चरणको खोप अभियान सञ्चालन गरेको थियो। पहिलो चरणमा स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसाफाइकर्मी, पत्रकार, कूटनीतिक नियोगका कूटनीतिज्ञ तथा कर्मचारी, सार्वजनिक संस्थान र बैंक तथा वित्तिय संस्थानका कर्मचारीसहितले खोपको पहिलो मात्रा लगाएका छन्।

यसरी पहिलो मात्रा लगाएकाहरुलाई आजदेखि वैशाख ११ गतेसम्म दोस्रो मात्राको खोप दिने अभियान सुरु भएको हो। खोप लगाउनका लागि केन्द्रहरु तोकिएको र आफूलाई पायक पर्ने केन्द्रमा गएर खोप लगाउन निर्देशनालयले आग्रह गरेको छ।

माघ १४, १५, १६, १७ र २६ गते खोपको पहिलो मात्रा लगाएकाहरुले वैशाख ७ गते तथा माघ १८, १९, २०, २१ र २७ गते पहिलो मात्रा लगाएकाहरुले वैशाख ८ गते दोस्रो मात्रा लगाउन पाउने छन्। यस्तै माघ २२, २३, २४, २८ र फागुन २ गते पहिलो मात्रा लगाएकाले वैशाख ९ तथा माघ २९ र फागुन ३, ४, ५ र ६ गते पहिलो मात्रा लगाएकाहरुले वैशाख १० गते दोस्रो मात्राको खोप लगाउन पाउने छन्।

वैशाख ११ गते दोस्रो मात्राको खोप गएको माघ ३० र फागुन ७, ८, ९ र १० गते पहिलो मात्रा लगाएकाहरुलाई लगाइने जनाइएको छ । तोकिएका केन्द्रहरुमा बिहान १० देखि दिउँसो ४ बजेसम्म खोप लगाउन पाइने छ।