कात्तिक १८, २०७९ शुक्रबार

प्रसंग शुरु गरौं, पुराना नेता स्व. जोगमेहर श्रेष्ठबाट । एक दिन अकस्मात पूर्व गृहमन्त्री जोगमेहर श्रेष्ठसँग वरिष्ठ राजनीतिज्ञ स्व. राजेश्वर देवकोटाको घरमा जम्काभेट भयो । उमेरले देवकोटाभन्दा जेठा श्रेष्ठ तत्कालिन पञ्चायती व्यवस्थाका परिपक्व र अनुभवी राजनीतिज्ञ हुनुहुन्थ्यो । उहाँहरू दुवै जना पुराना राजनीतिक हस्तीका बीचमा यो पंक्तिकारले जिज्ञासा राख्दै उहाँहरूको कुरा सुनिरहेको थियो । यसै प्रसंगमा वि.सं. २०४३ सालको तत्कालिन पञ्चायती व्यवस्थाअन्तर्गत भएको राष्ट्रिय पञ्चायत सदस्य निर्वाचनको प्रसंग आयो । मैले सोधें, त्यत्रो पञ्चायती विरोधी वामपन्थी पद्मरत्न तुलाधरले कसरी निर्वाचन जिते ? र, तपाईंले कसरी हार्नुभयो ? श्रेष्ठले भने, हेर्नुस् बाबु राजनीति चलचित्र जस्तो हो । एउटा चलचित्र हेर्न जाँदा हामीले नायक, नायिका र अन्य पात्रहरूका कथावस्तु हेर्दछौं । तर, त्यसलाई निर्माण गर्ने डाइरेक्टरका बारेमा दर्शकहरू जानकार हुँदैनन् । राजनीति पनि त्यस्तै हो । एउटा दर्शन भेटमा राजा वीरेन्द्रले जोगमेहर तिमी चुनाव नलड, म राष्ट्रिय पञ्चायतमा तिमीलाई मनोनित गरेर ल्याउनेछु । त्यो समयमा काठमाडौंमा म लोकप्रिय थिएँ ।

मैले भनें, होइन सरकार म चुनाव लड्छु र जित्छु पनि । अन्ततः निर्वाचन भयो, मैले निर्वाचन पराजय भोगें भने पद्मरत्न तुलाधर जनपक्षीय उम्मेदवारको रुपमा विजयी भए । उनी त सरकारी उम्मेदवार पो रहेछन् । यसरी राजनीतिभित्र र बाहिर फरक हुन्छ । ठिक यतिबेला काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साह आफ्ना निकटतम प्रतिद्वन्द्वीहरूभन्दा झण्डै दोब्बर मत ल्याएर वि.सं. २०४३ सालको रापंशमा पद्मरत्न तुलाधर विजयी भए जस्तै विजयी भएका छन् । व्यक्तिगत रुपमा स्वतन्त्र रुपमा निर्वाचित उम्मेदवारहरूप्रति नकारात्मक टिप्पणी गर्नु जरुरी छैन । कतिपय पर्दाभित्रका राजनीतिक चलखेलहरू स्वयं उम्मेदवार र विजयी प्रतिनिधिहरूले पनि आफू प्रयोग भएको थाहा नपाउन सक्छन् । यो अस्वाभाविक होइन । माओवादी हिंसाको अवतरणपछि नेपालमा जातीय साम्प्रदायिक हिंसामार्फत् तराईमा तथाकथित मधेश आन्दोलनका नाममा हिंसा भड्काइयो ।

यो हिंसा भड्काउनलाई अनमिन पूर्ण रुपमा प्रयोग भएको थियो भने यसको नेतृत्व मधेशी जनअधिकार फोरमको नाममा उपेन्द्र यादवले लिएका थिए । राजतन्त्रको विस्थापनपछि आ–आफ्नो स्पेशको खोजीमा शक्ति राष्ट्रहरू नेपाली राजनीतिक मैदानमा आफ्ना अनुकुल पात्रहरूको खोजी गर्नेक्रममा चीनले माओवादीलाई पक्रियो । तथापि माओवादी हिंसा दरबारको युरो अमेरिकी केन्द्र, सेनाको वीरेन्द्र हत्या गर्ने केन्द्र र पश्चिमी शक्ति केन्द्रको संयुक्त गठजोडको हिंसा थियो । तथापि परिवर्तन भनेर लागेका सर्वसाधारण माओवादी समर्थक या गुरिल्लाहरू कम्युनिष्ट क्रान्ति भनेर नै लागेका थिए । यो कुरालाई चीनले पनि नबुझेको होइन । यसकारण उसले मैदानमा आफ्नो अनुकुल माओवादी नै हुने ठानेर माओवादी शक्तिमाथि केन्द्रीत भयो । ततपश्चात् माओवादी आफ्नो अनुकुल नहुने भएपछि पश्चिमाहरूलाई पहिलो चरणमा उग्र क्रान्तिकारी नारामा मोहन वैद्य र रामबहादुर थापालाई अगाडि लगाएर विभाजन गराए । यो विभाजनको असर दोस्रो संविधानसभामा पहिलोबाट तेस्रो शक्तिमा झरेर माओवादी खण्डित हुन गयो ।

तत्पश्चात् नर्वेको क्रिश्चियन फण्डबाट पहिलो चरणमै १० करोड लिएर नेपालका पत्रपत्रिका, टेलिभिजनहरूबाट विज्ञापन गर्दै डा. बाबुराम भट्टराईको नेतृत्वमा नयाँ शक्ति पार्टी गठन भयो । निर्वाचनसम्म आइपुग्दा यो पार्टीको खासै हैसियत नभएपछि उनी उपेन्द्र यादवकोमा पुगे । यही क्रममै बीबीसीमा लामो समयसम्म कार्यरत वरिष्ठ पत्रकार रविन्द्र मिश्रको नेतृत्वमा साझा विवेकशील पार्टी गठन भयो । यो पार्टीको पनि खासै प्रभाव नभएपछि नयाँ मोडलको खोजीमा शक्ति केन्द्र आ–आफ्नो कोणबाट चलायमान थियो । यही क्रममा हालै सम्पन्न स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारको रुपमा काठमाडौं महानगरपालिका लगायत देशका अन्य ठाउँहरूमा पनि उपयुक्त मोडलकै नयाँ रुपमा प्रयोगमा ल्याइयो । र, यो केही हदसम्म सफल भएको देखिन्छ । धनगढी उपमहानगरपालिकाबाट निर्वाचित वर्तमान मेयर गोपाल हमाल रविन्द्र मिश्रको भ्रष्टाचारीलाई किरा परोस् अभियानमा सामेल थिए । यो स्वतन्त्र उम्मेदवारी र विजयको अभियान त्यतिकै रोकिने छैन । आगामी संघीय संसद र प्रदेशसभा निर्वाचनमा यसको प्रभाव देशव्यापी रुपमा देखिनेछ ।

यतिबेला नेपालको भूराजनीति पश्चिमा अमेरिकी शक्ति र चीनको बीचमा आमने सामने टकराई रहेको छ । चीनलाई रोक्नका निम्ति नेपालको सेनालाई हात लिएर राजा वीरेन्द्रको वंश विनाश गरेको अमेरिकी शक्ति आफ्नो प्रभुत्व कायम राख्नका निम्ति त्यति नै क्रियाशील छ । उत्तरतर्फ संसारको सबैभन्दा ठूलो जनसंख्या भएको चीन र दक्षिणतर्फ संसारको दोस्रो ठूलो जनसंख्या भएको भारतकोबीचमा नेपाल उसको लागि रणनीतिक स्थल रहेको छ । यसलाई राम्रोगरी बुझेको चीनले नेपाल केन्द्रीत पश्चिमा गतिविधि भारतलाई पनि घातक हुने कुरामा दिल्लीलाई पनि नझकझक्याएको होइन ।

तर, नेपालमा चीनको प्रभाव रोक्नका लागि भारतले पश्चिमाहरूलाई नै साथ दिइरहेको अवस्था छ । यो अवस्थामा ओलीको कारण एकीकृत कम्युनिष्ट पार्टीको विभाजन र स्वयं ओली सत्तामा रहेको अवस्थामा अमेरिकाको कठपुतलीको रुपमा उनले गरिरहेका क्रियाकलापहरूका कारण एकीकृत कम्युनिष्ट पार्टी विभाजन भयो । बाध्यात्मक रुपमा देउवाकोमा पुगेका प्रचण्ड अस्तित्व रक्षाका लागि कहिले दायाँ त कहिले बायाँ चक्कर लगाइरहेका छन् । एमसीसी संसदबाट पारित भएपछि विश्वास गुमाएका प्रचण्डका लागि अहिले कुनै पनि भरोसायोग्य अन्तर्राष्ट्रिय शक्ति केन्द्र छैन । चीनले सुझाएको वामपन्थी एकता केपी ओलीकै कारण नहुने निश्चित जस्तै छ । किनभने प्रचण्डले वार्ताका लागि पठाएका प्रतिनिधिहरू र केपी ओलीले आफ्ना शुभेच्छुक र शुभचिन्तकहरूसँग प्रचण्ड र माधव नेपालसँग एकता हुन नसक्ने र अन्यसँग हुनसक्ने भनेपछि लगभग वामपन्थी एकताको च्याप्टर बन्द भएको छ ।

यो अवस्थामा अहिले एकछिनलाई प्रचण्ड देउवासँग भए पनि उनी भरपर्दा होइनन् । यसकारण काँग्रेसको विकल्पमा अमेरिकाले एउटा वैकल्पिक पार्टी निर्माण गर्ने प्रयत्न विगतदेखिनै गर्दै आइरहेको छ । बालेन शाह लगायत स्वतन्त्र व्यक्तिहरूको स्थानीय निर्वाचनमा विजयीपछि दिल्लीमा केजरीवाल मोडलमा काँग्रेसलाई सहयोग पुग्ने गरी अर्को पार्टी गठन गर्ने प्रयत्नमा नेपालको अमेरिकी दूतावास क्रियाशील रहेको छ । काँग्रेसबाहेकका निर्णायक दलहरू वामपन्थी पृष्ठभूमिका रहेका हुनाले ती भरपर्दा नहुने विश्वासका साथ अमेरिकीहरूले नयाँ पार्टीको प्रयत्न गर्न थालेका छन् । यो अवस्थामा विशेष गरेर नेकपा एमाले, माओवादी केन्द्र र अन्य वामपन्थी पार्टीहरूका दोस्रो र तेस्रो पुस्ताका नेतृत्वहरूले विगतका सामान्य कमी कमजोरीहरूलाई समिक्षा गरेर एकतातर्फ दबाव दिएनन् भने कुनै दिन नेपालका कम्युनिष्टहरू पश्चिम बंगालको भाकपा माक्र्सवादीको अवस्थामा पुगे भने आश्चर्य नमान्दा हुन्छ । कुनै समय भाकपा माक्र्सवादी भारतको लोकसभामा कँग्रेस आईपछि प्रमुख प्रतिपक्षी थियो ।

विस्तारै विस्तारै उसको ओरालो यात्राको क्रममा अहिलेको माओवादी जस्ता भाकपा माक्र्सवादीले जोसँग गठबन्धन गर्छ उसको सरकार बन्ने अवस्था आयो । त्यसपछि अहिले केरलाको १ सिटमा थन्किएर ५४३ लोकसभा सदस्यमा अहिले भारतमा भाकपा माक्र्सवादीको १ स्थान हुन गयो । यो अवस्था नेपालका वामपन्थीहरूको नहोला भन्ने छैन । स्वतन्त्र उम्मेदवारहरूको विजय सामान्य होइन । त्यस्तै स्वतन्त्र उम्मेदवारहरूलाई विजयी गराउन भूमिका निभाउने शक्ति केन्द्रको भूमिका झन खतरनाक छ । यो कुरालाई समयमै बुझेनन् भने खण्डित वामपन्थी जनमत अझै खण्डित हुनेछ । यसलाई खण्डित हुन नदिनका लागि पहिलो पुस्ताका प्रचण्ड, माधव नेपाल, झलनाथ, केपी ओली, मोहनविक्रम सिंह, चित्रबहादुर केसी, विष्णुबहादुर मानन्धर यी सबैलाई बिदा गरेर दोस्रो पुस्ताले उनीहरूलाई सम्मानित नेतृत्वको रुपमा राख्दै नेतृत्व लिएर अघि बढ्न जरुरी छ । त्यसबाट स्वाभाविक रुपमा विगतका कटुताहरू अन्त्य हुँदै जानेछन् भने जनमतले वैचारिक धार लिँदै जानेछ । सबैलाई चेतना भया । अर्जुन ज्ञवाली